विद्यमान वन्यजन्तु ऐन संशोधन गरी विकास र जनमैत्री बनाउँछौं : वनमन्त्री साही

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर साहीले विद्यमान वन्यजन्तु ऐन संशोधन गरी विकास र जनमैत्री बनाइने बताएका छन् ।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा वन तथा वातावरणमन्त्री साहीले यस्तो बताएका हुन् । उनले बाँदरको आतङ्कले ग्रामीण क्षेत्रमा जनताहरू आक्रान्त भएर सुत्न समेत नपाउने अवस्था रहेको भन्दै विद्यमान रहेका ऐन कानुनलाई संशोधन गर्ने बताए ।

उनले सरकार निरन्तर रुपमा वन र वन्यजन्तु ऐनलाई जनतामैत्री बनाउने पक्षमा रहेको उल्लेख गरे । उनले वनसँग सम्बन्धित सरकारी निकायहरु पनि विकास जनमैत्री हुनुपर्ने पक्षमा वर्तमान सरकार रहेको बताए । उनले बाँदर लगायत अन्य वन्यजन्तुहरू नियन्त्रणका विषयमा मुलुकको संविधान र अन्तर्राष्ट्रिय कानुनहरूलाई मध्यनजर गरेर यो समस्या समाधान गरिने बताए ।

उनले बाँदर, बाघ लगायतलाई नियन्त्रण र क्षति न्यूनीकरण समाधानका विकल्पहरूको खोजी भइरहेको बताए । उनले वन्यजन्तु नियन्त्रणमा वन्यजन्तुको अधिकार,धर्म संस्कृति जोडिएको भन्दै संविधान अन्तर्गत बनेका ऐन कानुनहरूलाई पनि मध्यनजर गर्दै सबै समस्याको समाधान गर्ने बताए ।

उनले भने ‘बाँदर लगायत अन्य वन्यजन्तुहरू नियन्त्रणका विषयमा मुलुकको संविधान र अन्तर्राष्ट्रिय कानुनहरूलाई मध्यनजर गरेर यो समस्या समाधान गर्नुपर्छ भन्ने मेरो मान्यता छ । यसको समाधानका विकल्पहरूको खोजी भइरहेको छ । वन्यजन्तु नियन्त्रणमा वन्यजन्तुको अधिकार,धर्म संस्कृति जोडिएको छ । नेपालको संविधान अन्तर्गत बनेका ऐन कानुनहरूलाई पनि मध्यनजर गर्दै सबै समस्याको समाधान गर्नुपर्ने छ । बाँदरको आतङ्कले ग्रामीण क्षेत्रमा जनताहरू आक्रान्त भएर राति सुत्न समेत नपाउने अवस्था छ । त्यो गम्भीर समस्या आएको छ । यी सबै कुरालाई मध्यनजर गर्दै विद्यमान रहेका ऐन कानुनलाई संशोधन गर्नै हुँदैन भन्ने छ्रैन । सरकार निरन्तर रुपमा जनतामैत्री कानुन बन्नुपर्छ । विकासमैत्री कानुन बन्नुपर्छ । सरकारी निकायहरु पनि विकास जनमैत्री हुनुपर्छ भन्ने कुरामा दुई मत छैन । वन्यजन्तु ऐनमा सरकारले केही संशोधन गरेर विकास,जनमैत्री बनाउने विषयमा लागिरहेका छौं ।’

वन तथा वातावरण राज्यमन्त्री रुपा वि.कले वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणको लागि विभिन्न विकल्पहरू आएकाले सरकारले ती विकल्पहरूलाई आधार मानेर ऐन बनाउँदै कार्यविधि बनाउन आवश्यक रहेको बताइन् । उनले सरकारले वन्यजन्तु ऐन जनता र वन्यजन्तुको अधिकारलाई संरक्षण हुनेगरी बनाउनुपर्ने बताइन् ।

उनले वन्यजन्तु संरक्षण र नागरिकको दैनिकीसँग जोडिएर आएका समस्यालाई वन तथा वातावरण मन्त्रालयले समाधान गर्नेगरी नागरिकमा छाएको निरासा चिर्नेगरी काम गर्ने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *