खेल विकास र ऐन कार्यान्वयनमा सक्दो भुमिका निर्वाह गरेँ – निः वर्तमान उपाध्यक्ष कोईराला

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का निः वर्तमान उपाध्यक्ष शिव कोईरालाले आफ्नो कार्यकालमा नीति बसाल्ने र नेतृत्वलाई स्थायित्व बनाउन धेरै भुमिका खेलेको बताएका छन् ।
त्रिपुरेश्वरस्थित राखेपकै कार्यालयमा बुधवार राखेपद्वारा गरिएको आफ्नो बिदाइ कार्यक्रमका अवसरमा उपाध्यक्ष कोईरालाले नियमित बोर्ड बैठक राख्ने, दशकौँसम्म रोकिएको कर्मचारीको बढुवा सफल गर्ने र खेल संघलाई ऐनअनुरूप अगाडि बढ्न प्रेरित गराउने लगायत काम भएको बताएका हुन् ।
खेलकुदमा राजनीतिक नियुक्त भएर आउने व्यक्ति, कर्मचारी र खेलाडीबीच राम्रो सम्बन्ध स्थापित गर्न आफूले धेरै प्रयास गरेको उनको विश्वास छ । यद्यपि, आफ्नो चारवर्षे कार्यकालमा अझै धेरै गर्नसक्ने भएपनि परिस्थितिवश र विभिन्न बाह्र कारणले गर्दा आफू पूर्णरूपमा सफल हुन नसकेको राखेपका निवर्तमान उपाध्यक्ष कोइरालाको स्वीकारोक्ति थियो ।

कोईरालाले परिषद् चार वर्ष उपाध्यक्षका रूपमा काम गर्दै धेरै सिकेको भन्दै अझै यस क्षेत्रमा सुधार गर्नुपर्ने धरै विषय रहेको उल्लेख गरे । उनले यो जिम्मेवारीमा नरहे पनि अन्य कुनै जिम्मेवारीबाट खेलकुदमा भएका गतिविधि नियाल्ने धारणा राखे । खेलकुदमा सफलता प्राप्त गर्न खेलका विभिन्न निकायबीच सम्बन्ध राम्रो हुनुपर्ने उनको धारणा छ । ग्रास रुटका कार्यक्रम नियमित रूपमा अगाडि बढाउनसके खेलकुदको थप राम्रो विकास हुने कोईरालाले बताए । उनले खेलकुदमा नै काम गरेका व्यक्तिलाई नै खेल विकासको जिम्मेवारी दिँदा अझ केही सफलता प्राप्त हुने विश्वास व्यक्त गरे ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र राखेपका सदस्यसचिव टंकलाल घिसिङले निः वर्तमान उपाध्यक्ष शिव कोइरालालाई सम्मान गर्दै बिदाइ गरेका थिए । २०७७ साल साउन १२ गते परिषद्को उपाध्यक्ष पदमा नियुक्त भएका कोईरालाले गत साउन १२ गते चार वर्षे कार्यकाल पूरा गरेका हुन् । कार्यक्रममा राखेपका सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुदको विकासका लागि सम्पूर्ण पक्षको एकता आवश्यक रहेको औँल्याए । खेलकुद विमालेख कार्यान्वयनमा ल्याइएको तथा कानुनी रूपमा नै खेलाडीको पुरस्कार सुनिश्चित गरिएको उनले बताए ।
बिदाइका अवसरमा राष्ट्रिय खेलकुद परिषद्को कर्मचारी संघकी अध्यक्ष सरस्वती केसीले राखेपका उपाध्यक्षका रूपमा शिव कोईरालाले खेलकुद विकाससँगै कर्मचारीको पनि वृद्धि विकासमा उल्लेखनीय भुमिका निर्वाह गरेको बताए । सो अवसरमा मन्त्री चौधरीले खेलकुदका योजना बनाउँदा खेलाडीको सुविधालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । मन्त्री चौधरीले स्वास्थ्य तथा शिक्षामा सहुलियत दिन सकिने भन्दै यसका लागि खेलाडीको वर्गीकरण गरिने पनि उल्लेख गरे ।








