प्रधानमन्त्रीको प्रतिबद्धता- चालु अधिवेशनबाटै टिआरसी विधेयक पारित हुन्छ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले टिआरसी विधेयकमा सहमति हुनु कोशेढुंगा भएको बताएका छन् ।

बुधवार सिंहदरबारमा टिआरसी विधेयक सहमतिको प्रतिवेदन बुझ्दै उनले यस्तो बताएका हुन् । उनले चालु अधिवेशनबाटै शान्ति प्रक्रियासँग सम्बन्धित विधेयक पारित गर्ने प्रतिबद्धता जनाए ।

उनले अब कानुनको हिसाबले शान्ति प्रक्रियाको अन्तिम किस्ताका रुपमा रहेको बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन र सत्य निरूपण तथा मेलमिलाप सम्बन्धित कामलाई अन्तिम रूप दिन कुनै अन्यौलता नरहेको जिकिर गरे ।

उनले संसदको समितिले सर्वसम्मतिले पारित गरेर पठाउने विश्वास व्यक्त गरे । शान्ति प्रक्रिया टुंग्याउन प्रतीक्षा गर्नुपर्ने कुनै कारण नरहेको बताए ।

‘आज एउटा कोशेढुंगाको रुपमा हामीले सफलता प्राप्त गरेका छौँ । अब हामीलाई कानुनको हिसाबले शान्ति प्रक्रियाको अन्तिम किस्ता बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन र सत्य निरूपण तथा मेलमिलाप सम्बन्धित कामलाई अन्तिम रूप दिन कानुनी कुनै अन्योल, दुबिधा छैन,उनले भने ‘अब यसलाई संसदको समितिले मैले विश्वास लिएको छु सर्वसम्मतिले पारित गरेर पठाउँछ । र पूर्ण हाउसले पनि यसै सदनमा हामी पास गर्छौं । यसमा प्रतीक्षा गर्नुपर्ने कुनै कारण छैन । यसै अधिवेशनमा हामी पास गर्छौं ।

प्रधानमन्त्री ओलीले पुरानै शान्ति प्रक्रियाको अवशेष बाँकी रहनु उचित नभएकाले टुंग्याइएको बताए । पटक पटक प्रयास गर्ने कुराको सिलसिलालाई अहिले अघि बढाएको बताए ।

उनले शान्ति सबैको चाहना भएकाले सत्य निरूपण तथा मेलमिलापको प्रक्रियालाई विश्व समुदायले स्वीकार गर्नेगरी टुंग्याइने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *