बङ्लादेशमा बाँकी रहेका विद्यार्थीको सुरक्षाका लागि परराष्ट्रमन्त्रीको निर्देशन

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बङ्गलादेशमा जारी आन्दोलनका कारण बङ्गलादेशमा बाँकी रहेका नेपाली विद्यार्थीलाई पर्न सक्ने अप्ठ्यारोप्रति जानकार रही उनीहरूको सुरक्षामा सक्रिय रुपमा लाग्न ढाकास्थित नेपाली दूतावासलाई निर्देशन दिएकी छन् ।

मन्त्री डा राणाले ढाकास्थित नेपाली राजदूतसँग टेलिफोनमार्फत बङ्गलादेशको पछिल्लो अवस्थाबारे आज जानकारी लिएपछि बङ्गलादेशमा रहेका नेपालीहरूको आवश्यक सुरक्षा तथा सहयोगार्थ लाग्न सो निर्देशन दिएकी हुन् ।

त्यस अवसरमा बङ्गलादेशमा नेपाली विद्यार्थीलगायत सबै नेपाली नागरिक सुरक्षित रहेका बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले पनि जानकारी गराएका मन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्री डा राणाले धेरै नेपाली विद्यार्थी स्वदेश फर्किसकेको भए पनि बङ्गलादेशमा बाँकी रहेकाहरूको सुरक्षाका लागि उनीहरूको सम्पर्कमा रहेर आवश्यक समन्वय गर्न दूतावासलाई निर्देशन दिइन् ।

ढाकास्थित नेपाली दूताबासले बङ्गलादेशमा अनिश्चितकालीन कर्फ्यु जारी गरिएकाले बङ्गलादेशमा रहेका सबै नेपालीलाई आफू रहेका स्थानमै सुरक्षित रहन र अधिकतम् सतर्कता अपनाउन आज सूचना जारी गरेको छ ।

सो सूचनामा बङ्गलादेशबाट अधिकांश विद्यार्थी स्वदेश फर्किसकेका र हाल बङ्गलादेशमा करिब चार सय विद्यार्थी रहेका र उनीहरु सुरक्षित रहेका जानकारी पनि दिइएको छ ।

सो सूचनामा नेपाल फर्कन चाहनेहरूले दूताबाससँग समन्वय गरी सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछि मात्र यात्रा गर्न आग्रह गर्दै आवश्यक समन्वयका लागि दूताबासको सम्पर्क ठेगाना पनि दिइएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *