सहकारी छानिबन समितिले पीडक पक्षसँग पनि छलफल गर्ने (भिडिओ)
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानवीन गर्न गठित विशेष संसदीय समितिले सहकारी ठगीका पीडक पक्षसँग पनि छलफल गर्ने भएको छ ।
सोमवार समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकले सहकारी ठगी प्रकरणका पीडक पक्षसँग छलफल गर्ने निर्णय गरेको हो ।
समितिले विभिन्न जेलमा रहेका सम्बन्धित पीडकहरूलाई आवश्यक छलफल गर्नका लागि समितिमा उपस्थित गराउनका लागि गृह मन्त्रालयलाई आग्रह गरिएको समिति सदस्य लेखनाथ दाहालले जानकारी दिए ।
उनले समिति निष्कर्षोन्मुख रहेको भन्दै अन्तिममा पीडकहरुसँग छलफल गरेर निर्णय प्रक्रियामा जाने बताए ।
उनले भने – ‘करिब करिब हामी निष्कर्षतिर जान खोज्दैछौँ । पर्याप्त सुझावहरू हामीले लिइसकेका छौँ । प्रमाणहरू पनि जुटाइसकेका छौँ । अब जे–जे जुटेका छन् ति प्राप्त प्रमाणहरू र सुझावहरूका आधारमा हामीले प्रतिवेदन तयार गर्ने प्रक्रियाको शुरुवात गर्न लागेका छौँ आजबाट । अब पीडक पक्षसँग छलफल गर्न बाँकी छ । पीडक पक्षसँग पनि छलफल गर्ने जो विभिन्न जेलहरुमा छन्, विदेशमा छन् । गृहमन्त्रालयलाई आदेश पनि दिइसकेका छौँ कि हामीले, पीडकहरु जो छलफल गर्नका लागि आवश्यक छन् । ति सम्बन्धित पीडकहरूलाई समितिको कार्यालयमा उपस्थित गराउने भनेर आज हामीले एउटा निर्णय गरेका छौँ । अब अन्तिम पीडकहरुसँग छलफल गरिन्छ । त्यसपछि निर्णय प्रक्रियामा गइन्छ ।’
उनले समितिले प्राप्त गरेको प्रमाण र सुझावहरूको आधारमा प्रतिवेदन तयार गर्न शुरु गरिएको बताए ।