आम जनतालाई ठगी गर्ने शेयर कारोबारमा संलग्न कम्पनीमाथि छानबिन गर्नुपर्छ : अमरेशकुमार सिंह
काठमाडौं । प्रतिनिधि सभाका सांसद डा. अमरेशकुमार सिंहले आम जनतामाथि ठगी गर्ने सेयर कारोबारमा संलग्न कम्पनीहरुमाथि छानविन गर्न सरकारसँग माग गरेका छन् ।
सोमवार प्रतिनिधि सभा बैठकमा बिना आधार शेयर बजार उकालो लागेको देखाएर आम जनतालाई ठगी गर्ने धन्दामा लागेका कम्पनीमाथि कडा निगरानी राख्न र उनीहरूमाथि छानविन गर्नका लागि सरकारले एउटा समिति गठन गर्नुपर्ने उनको भनाई थियो ।
सांसद सिंहले आम जनतालाई गुमराहमा राख्ने कुनैपनि सेयर कारोबारमा संलग्न कम्पनीहरुमाथि नियमनकारी निकायहरूले पनि कडा निगरानी राख्नुपर्ने बताए ।
उनले भने, ‘म नेपाल सरकार र अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु–गरिब जनतामाथि ठगी गरेर शेयर बजारमा कृत्रिम ढङ्गले अघि बढाएर आम जनतालाई ठग्ने काम बन्द होस । सरकारले यसलाई रेगुलेट गरोस् । छानविन समिति बनाएर त्यस्ता कृतिम ढङ्गले सेयर कारोबार गर्ने कम्पनीहरू छ, कसले जनतालाई गुमराहमा पार्ने काम गरेको छ ? तिनीहरूलाई कारबाहीको लागि छानविन समिति गठन गर्न सरकारसँग माग गर्दछु ।’
शेयर बजारमा कृतिम ढङ्गले काम गर्ने कुनैपनि कम्पनीलाई सरकारले कारबाहीको दायरामा तत्काल ल्याउनुपर्ने सांसद सिंहले बताए ।