पाटन उच्च अदालत बारको निर्वाचनका लागि मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । पाटन उच्च अदालत बारको निर्वाचनका लागि मनोनयन दर्ता प्रक्रिया सुरु भएको छ ।
सोमवार उच्च अदालत परिसरमा निर्वाचनका लागि मनोनयन दर्ता सुरु भएको हो । तर स्वतन्त्र कानुन व्यवसायी मञ्चले भने विरोध जनाएको छ । उनीहरुले समावेशी लागू नगरेको भन्दै आपत्ति जनाएका छन् ।
मनोनयन दर्ताका लागि शुल्क बढी भएको उनीहरूको आरोप छ । अदालत परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै स्वतन्त्र कानुन, व्यवसायी मञ्चकी कोषाध्यक्ष दियारानी थापाले प्यानल उठाएर आफ्नो आफ्नो ल्याउने र अरूलाई प्रतिस्पर्धा गर्न रोक्ने काम भएको भन्दै आपत्ति जनाइन् । बारको निर्वाचन युवाहरूका लागि उपयुक्त वातावरण नरहेको जिकिर गरिन् ।
‘उच्च अदालतको बारको चुनाव आउँदै छ । आज मनोनयन दर्ता गर्नुपर्ने । हाम्रो एजेन्डा समावेशी लागू गर्नु भएन । संविधानमा समावेशीको स्पष्ट व्यवस्था गरेको छ । तर बार इकाईहरूले आफ्नो आफ्नो प्यानल उठाएर आफ्नो आफ्नो ल्याउने, अरूलाई प्रतिस्पर्धा गर्न रोक्ने,’उनले भनिन्,‘मलाई चुनावमा उठ्न मन लागेको छ, तर ३० हजार मनोनयन दर्ता फी राख्नुभएको छ । ३० हजार जम्मा गर्न हामीलाई कति लाग्छ । यो धेरै भयो, युवाहरूका लागि काम छैन । चर्को शुल्कले उम्मेदवारी दिन सकिन ।’
यता, अधिवक्ता रामचन्द्र सिम्खडा भने स्वतन्त्र कानुन व्यवसायी मञ्च पार्टीको झन्डा बोकेर बारको निर्वाचनमा आएको आरोप लगाए । उनले कानुन व्यवसायीहरू पार्टीको भण्डा बोकेर आउनु नहुने बताए ।
उनले समावेशिताको चर्को नारा दिएर मात्रै नहुने भन्दै आफूहरूले कानुन बमोजिम निर्वाचन गराइरहेको बताए ।
‘यहाँ स्वतन्त्र भने पनि उहाँहरू कुनै कुनै पार्टीमा रहेर आउनुभएको छ । एउटा पार्टीको झन्डा बोकेर आउनुभएको छ । तर कानुन व्यवसायीमा त्यसरी आउनु हुँदैन । यहाँ आइसकेपछि कानुन, व्यवसायी भनेको कानुन, हक हितको रक्षक हुनुपर्छ,’उनले भने,‘अहिले उहाँहरूको माग जुन छ, समावेशिताको चर्को नारा दिएर हुँदैन, संविधान बमोजिम हुनुपर्छ । यो २० हजार कानुन, व्यवसायीहरूले बनाउने बारको नियम । हामीले विधान भन्दा बाहिर गएर निर्वाचन गराउन मिल्दैन ।’
मनोनयन दर्ताका लागि २०७५ सालमा तोकिएको रकम भन्दा बढी रकम नलिएको दाबी गरे ।








