वर्तमान सरकार मजबुत छ, बाधा नआउने गरी संविधान संशोधन गर्छौँ : डा.शेखर कोईराला

काठमाडौं । नेपाली काँग्रेसका नेता डा.शेखर कोईरालाले संविधानको समावेशी चरित्रलाई परिवर्तन नगरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।
आइतबार नेपाली काँग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता कोईरालाले संविधानका उल्लेख भएको समावेशी चरित्रलाई कुनै किसिमको बाधा तथा अड्चन नआउने गरी संविधान संशोधन गर्नुपर्ने बताएका हुन् ।
‘सरकार परिवर्तन भइरहँदा सरकारमा स्थायित्व पनि नहुने, सुशासन पनि दिन नसक्ने, विकास पनि नहुने । यो कुराहरूले गर्दा हामीले सोच्यौँ काँग्रेस र एमाले सम्मिलित सरकार बनाऔँ । र निश्चित कुराहरूमा जाऔँ । राजनीतिक स्थायित्व दिनलाई संविधान संशोधन गर्ने हो कि भन्ने कुराहरू आयो । हामीहरू मिश्रित प्रणालीबाट जाँदै छौँ चुनावमा । मिश्रित प्रणालीबाट चुनावमा जाँदा खेरी कुनै पनि दलको बहुमत आउँदैन,’उनले भने,‘बहुमत ल्याउनका लागि प्रत्यक्ष निर्वाचित हिसाबले जाने तर समावेशी चरित्र जुन हाम्रो संविधानको छ । त्यो समावेशी चरित्रलाई कुनै किसिमको बाधा, अड्चन नआउने गरी, त्यसलाई परिवर्तन नगरी अगाडी कसरी जान सकिन्छ त्यो अत्यन्त जरुरी छ भन्ने मलाई लाग्छ । त्यसरी हामी गयौँ भने कसैको सरकार आउँला । आज नेपाली काँग्रेसको आउँला । हामीले राम्रो काम गर्यौं भने अर्कोचोटी पनि आउँला । अनि अगाडी बढ्न सकिन्छ भन्ने मलाई लाग्छ ।’
उनले राजनीतिक स्थायित्वको लागि नेपाली काँग्रेस र नेकपा(एमाले) सम्मिलित सरकार बनेको भन्दै सरकारलाई मजबुत बनाउनुपर्ने धारणा राखे । उनले राजनीतिक स्थायित्वको लागि संविधान संशोधन गर्नुपर्ने बताए ।
मिश्रित निर्वाचन प्रणालीबाट कुनै पनि राजनीतिक दलको बहुमत नआउने भन्दै उनले दलहरूको बहुमत ल्याउन प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने बताए । उनले संविधान अनुरूप विभिन्न जातजातिको प्रतिनिधित्व भने सुनिश्चित गर्नुपर्ने बताए ।
‘एक्लै चुनाव लड्न सक्ने क्षमता हामीहरूले बनाउन सक्नुपर्यो । कसैको वैशाखी लिएर हामी चुनावमा जान हुँदैन । त्यो हामीहरूले बुझ्न जरुरी छ । यो सरकार जुन बनेको छ, नेपाली काँग्रेस र एमालेको सरकार । यो सरकारलाई टिकाएर अगाडी कसरी लग्ने ? मजबुत कसरी बनाउने ?,’उनले भने,‘राजनीतिक स्थायित्व भएन भनेर हामीले यो सरकार बनाएको हो । ६/६ महिनामा सरकार परिवर्तन हुने । अरु देशमा सरकार परिवर्तन हुँदा नीति परिवर्तन हुँदैन । हामीकहाँ नीति पनि परिवर्तन हुन्छ । यो सरकार आउन बित्तिकै २२ जना सचिव परिवर्तन भए । अझै कति हुने हो ? यसरी गर्दा खेरी सरकारको स्थिरता आउँदैन । त्यसले अप्ठ्यारो परिस्थितिहरू सिर्जना गर्छ ।’
नेता कोईरालाले सरकारले सुशासन कायम गर्नुपर्ने बताए । उनले भ्रष्टाचारमुक्त समाज बनाउने कुरालाई सरकारले नजरअन्दाज गर्न नमिल्ने पनि बताए ।
उनले संसद्का दुई ठूला दलहरू नेपाली काँग्रेस र नेकपा(एमाले) मिलेर सरकार बनाउँदा निरङ्कुशता जन्मिने आशङ्का सबैलाई रहेको भन्दै गलत कामको विरुद्ध आवाज उठाउँदा सही दिशामा अघि बढ्न सकिने बताए ।
‘सबैभन्दा ठुलो कुरा सुशासन हो । भ्रष्टाचार मुक्त समाज हो । यो कुरालाई हामीहरूले नजरअन्दाज गर्न मिल्दैन । सरकारमा कमी कमजोरी देखियो भने हामीहरूले आवाज बुलन्द गर्नुपर्छ । किन गर्नुपर्छ ? किनभने दुई वटा ठूला दल सरकारमा छन्,’उनले भने,‘काँग्रेस र एमाले । दुई ठूला दल एक ठाउँमा भएपछि निरङ्कुशता जन्मिने पनि त्यत्तिकै शङ्का छ सबैलाई । हामीले गलत कामहरु गरेकोमा हामीहरूले आवाज उठाउन सक्यौँ भने पक्कै पनि यो सरकार ठिक ट्र्याकमा हिँड्छ र हामीहरू अगाडी बढ्छौँ ।’
नेता कोईरालाले नेपाली काँग्रेस पार्टीलाई पुरानो अवस्थामा फर्काइछाड्ने बताए । उनले पार्टीलाई मजबुत बनाउनका लागि सक्रियतापूर्वक पार्टी काममा लाग्न नेता, कार्यकर्ताहरूलाई आग्रह गरे ।








