कांग्रेस- एमाले सबै दललाई साथमा लिएर संविधान संशोधन गर्ने पक्षमा छ : योगेश भट्टराई

काठमाडौँ । सत्तारुढ नेकपा (एमाले) का सचिव एवं संसदीय विभाग प्रमुख योगेशकुमार भट्टराईले काँग्रेस–एमाले सबै राजनीतिक दलहरूलाई साथमा लिएर संविधान संशोधन गर्ने पक्षमा रहेको बताएका छन् ।

ताप्लेजुङ सरोकार केन्द्रले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । सचिव भट्टराईले नेपालको राजनीतिक व्यवस्थालाई अग्रगामी दिशा दिन संविधान संशोधन गर्ने कुरालाई अघि बढाउन सोच सत्तारुढ गठबन्धनले लिएको बताए ।

संविधानलाई गतिशील बनाउने गरी संशोधन गर्ने सोच अघि सारिएको उल्लेख गर्दै उनले त्यसमा आवश्यक सुझाव दिन पनि विज्ञहरूलाई आग्रह गरे । सचिव भट्टराईले दुई ठूलो दलको सरकार बनेयता मुलुकमा सकारात्मक सन्देश गएको दाबी गर्दै यसले मुलुकलाई सही दिशामा अघि बढाउने दाबी समेत गरे ।

उनले भने ‘अहिले देशका ठूलो पार्टीहरू एउटै सरकारमा बसिरहेका छौं । पक्कै पनि मुलुकका लागि केही नयाँ दिशा दिनकै लागि हामीले यो प्रयत्न गरिराखेका छौं । नेपाल देशलाई धेरै प्रयोगशाला नबनाऔँ । पटकपटक प्रयोगशालाहरू हुँदै आए । अब फेरि अर्को प्रयोगशाला नबनाऔँ देशलाई । यी दुई वटा पार्टी एक अर्काका प्रतिस्पर्धी पनि हुन । र, यी दुई वटा पार्टी इतिहासका निर्माता पनि हुन । इतिहासको कठिन मोडमा नेपाल राष्ट्रलाई सही दिशा दिन अग्रसर भएका पार्टीहरू पनि हुन । चाहे त्यो शान्ति प्रक्रियामा होस, चाहे त्यो संविधान निर्माणको बेलामा होस । चाहे अरु अन्य बेलामा होस । लोकतन्त्रलाई सुदृढीकरण गर्ने कुरामा होस । यस्ता ऐतिहासिक क्षणहरूमा हामी एक ठाउँमा आएका छौं । र, मुलुकलाई सही दिशा दिने प्रयत्न हामीले गरेका छौं । फेरी एक पटक यी दुई वटा पार्टीले यसमा पहल लिएका छन । मलाई विश्वास छ, हामीलाई विश्वास छ कि यसले एउटा सकारात्मक सन्देश नेपाली जनताको बीचमा गएको छ ।’

उनले अर्थ तन्त्रलाई लयमा फर्काउनु आवश्यक रहेको बताए । उनले राष्ट्रिय आत्मविश्वासलाई बढाउदै विदेशी मित्रहरूको विश्वास र देश भित्र लगानीको वातावरण बनाउन रहेको बताए । उनले विश्व शक्ति राष्ट्रहरूको तानातानका भइरहेको बेला त्यसका बाछिटाहरू नेपाल जस्ता सानो देशले भोग्नु नपरोस् भनेर चिन्ता व्यक्त गरे ।

उनले दुईवटा छिमेकी मुलुकहरूको समृद्धिबाट नेपाललाई कसरी फाइदा लिन सकिन्छ ?, उनीहरूका तनावबाट नेपाल कसरी मुक्त हुन्छ ?, उनीहरूको समृद्धिबाट हामीले कसरी फाइदा लिन्छौँ ?, यी नै विषयलाई सहज ढंगले अघि बढाउन नै यी दुई वटा पार्टी एक ठाउँमा आउनु परेको हो ऐतिहासिकता रहेको उनले बताए ।

यसको निम्ति नेपाली काँग्रेस र एमाले अग्रसरता लिएपनि संसदमा भएका अथवा नभएका राजनीतिक शक्तिहरु र पार्टीहरूलाई एकसाथ लिएर त्यस कार्यभारलाई समेत पूरा गर्ने गरी अगाडि बढ्ने सोचिरहेको उनले बताए । उनले विद्वानहरूको संविधानका बारेमा आफ्ना सुझावहरू प्राप्त गर्ने र त्यसले संविधानलाई अझै गतिशील बनाउन, संविधानलाई अझै राम्रो बनाउनका निम्ति सहयोग गर्ने बताए । उनले यी नै उद्देश्यका साथ नयाँ सहकार्यका साथ अघि बढेको जानकारी दिए ।

सचिव भट्टराईले सरकारले मुलुकमा बाह्य लगानी भित्र्याउने गरी वैदेशिक सम्बन्धलाई अघि बढाउने विश्वास पनि व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 4 =