१२ को नतिजा पनि एसईईको जस्तै कमजोर : अंग्रेजी, एकाउन्ट र सामाजिकमा धेरै विद्यार्थी नन्ग्रेडेड
काठमाडौं । कक्षा १२ को परीक्षाफल पनि एसईईकै जस्तो कमजोर देखिएको छ । परीक्षामा सहभागी विद्यार्थीहरूमध्ये झन्डै आधा विद्यार्थी फेल भएका हुन् ।
राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नियमिततर्फको नतिजाअनुसार ३ लाख ९० हजार ८ सय ६८ विद्यार्थी सहभागी भएकामा २ लाख ३ हजार ८ सय ४७ (५२.१५ प्रतिशत) पास हुँदा १ लाख ८७ हजार २१ .४७.८४ प्रतिशत) फेल भएका छन् । यसपालि चारमा चारै जिपिए ल्याउने विद्यार्थी भने शून्य रहेका छन् । ३.६१ देखि चार जिपिए ल्याउने ९ हजार ५९१ जना छन् ।
यसअघि गत वर्ष २०७९ सालको नतिजाअनुसार ६ हजार ९७६ विद्यार्थीले ३.६१ देखि ४ जिपिए ल्याएका थिए । २०७८ सालको नतिजाअनुसार चार हजार १७९ विद्यार्थीले ३.६ देखि ४ जिपिए ल्याएका थिए । विगतको तुलनामा यो वर्ष ए प्लस ग्रेड ल्याउने विद्यार्थीको संख्या बढेको हो । गत वर्ष ५१.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । भने २०७८ सालमा ४६.४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
जिपिए ३.२१ देखि ३.६० ल्याउने ४६ हजार ८९३ जना छन् । २.८१ देखि ३.२० जिपिए ल्याउने परीक्षार्थीको संख्या ७८ हजार ७५ जना छन् । जिपिए २.४१ देखि २.८० ल्याउनेको संख्या ६१ हजार ३६, जिपिए २.०१ देखि २.४० ल्याउने परीक्षार्थीको संख्या ८ हजार २४० जना छन् । १.६० देखि २.० जिपिए ल्याउने विद्यार्थी संख्या १२ जना छन् ।
ननग्रेडमध्ये एक लाख २७ हजारले ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् । सबैभन्दा बढी विद्यार्थी अंग्रेजीमा नन्ग्रेडेड भएका छन् । त्यसपछि एकाउन्ट र सामाजिक विषयमा सबैभन्दा धेरै विद्यार्थी अनुत्तीर्ण भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जनाए । अंग्रेजीमा ७२ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा १ लाख २ हजार २ सय ६ जना विद्यार्थी नन्ग्रेडेड भए । सामाजिकमा ५१ हजार, एकाउन्टमा ४७ हजार विद्यार्थी नन्ग्रेडिङमा परेको बोर्डले जनाएको छ ।
कक्षा १२ को नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नै प्रकाशन गरिएको हो । उक्त निर्देशिकाले ग्रेडिङमा पर्न प्रत्येक विषयमा कम्तीमा ३५ अंक ल्याउनैपर्ने व्यवस्था गरेको छ । ३५ भन्दा कम अंक आएका परीक्षार्थी ननग्रेडिङमा पर्छन् ।
मौका परीक्षा भदौ २५ र २६ गते
कक्षा १२ ग्रेड वृद्धि (मौका परीक्षा) आगामी भदौ २५ र २६ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको लागि आवेदन फारम भर्न आह्वान गरेको छ । बोर्डले २०८० सालको कक्षा १२ नतिजा शुक्रबार सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजाअनुसार ५२ दशमदव ९१ प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन् ।
दुई विषयमा एनजी (नन ग्रेडेड) आएका विद्यार्थीहरूले मौका परीक्षामा सहभागिता जनाउन पाउने बोर्डले जनाएको छ । सैद्धान्तिकतर्फ न्यूनतम डी वा सोभन्दा माथिल्लो ग्रेड आएका वा दुई विषयमा अनुपस्थित भएका विद्यार्थीले परीक्षामा सहभागिता जनाउन पाउनेछन् । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ । एक लाख ८७ हजार २१ विद्यार्थीको नतिजा एनजी आएको छ । तीमध्ये दुई विषयमा एनजी ल्याउने विद्यार्थीको संख्या एक लाख २७ हजार ७०७ रहेको छ । उनीहरूले मौका परीक्षा दिन पाउनेछन् ।