मौद्रिक नीतिले उत्पादनको क्षेत्रलाई प्रोत्साहन गर्ने अपेक्षा छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मौद्रिक नीतिले उत्पादनको क्षेत्रलाई प्रोत्साहन गर्ने अपेक्षा रहेको बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले आम मान्छेहरूमा मौद्रिक नीतिले उत्पादनको क्षेत्रलाई प्रोत्साहन गर्ने अपेक्षा रहेको बताएका हुन् ।

उनले मौद्रिक नीति अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्नेगरी लचिलो रूपमा आएको बताए । उनले अर्थतन्त्र चलायमान र गतिशील हुने बताए । अर्थमन्त्री पौडेलले वित्त नीति र मौद्रिक नीतिको सन्तुलनमा मुलुकको अर्थतन्त्रलाई चलाउनुपर्छ भन्नेमा सरकारको सचेत प्रयास रहेको बताए ।

उनले भने – ‘यसपटकको मौद्रिक नीतिको सन्दर्भमा म के भन्न चाहन्छु भने गभर्नरले, राष्ट्रबैंकले मुलुकमा जे प्रकारको समस्या देखिएको छ, अर्थतन्त्रमा जे–जस्ता समस्या देखिएका छन्, ति समस्याहरूलाई सम्बोधन गर्ने, समाधान गर्ने, मौद्रिक नीतिको सिमा भित्रबाट समाधान गर्ने सम्बन्धमा आवश्यक मात्रामा लचिलो हुनु जरुरी थियो । एक हदसम्म लचिलो भएको छ । कतिले यसलाई अहिले पनि कसिलो मानिरहेका छन् । कतिले यसलाई अतिरिक्त लचिलो भनेर पनि विश्लेषण गरिरहेका छन् । लचिलो ढंगले नै यो आएको छ । यसले स्वभावैले अर्थतन्त्रलाई चलायमान गर्न, अर्थतन्त्रलाई गतिशिल तुल्याउनका निम्ति र खासगरी उत्पादनको क्षेत्रमा यसले केही इन्करेज गर्नसक्छ भन्ने मान्छेहरूमा आशा, अपेक्षा छ । त्यही सोचको साथमा नै यो मौद्रिक नीतिको पनि कार्यान्वयन हुँदै जाँदा केही सकारात्मक नतिजाहरू आउँछन् भन्ने मलाई लाग्छ ।’

अर्थमन्त्री पौडेलले शेयर बजारमा अपारदर्शी क्रियाकलाप र अनुचित ढंगले प्रभावित गर्ने प्रयास नहोस् भनेर आफूले स्पष्ट रूपमा निर्देशन दिएको बताए ।

उनले कुनैपनि लगानीकर्ताको लगानी डुब्ने स्थिति आउन नदिनको निम्ति शेयर बजारलाई परिपक्व ढंगले अगाडी बढाउन नियामक निकायलाई निर्देशन दिएको पनि बताए ।

उनले नियामक निकायलाई शेयर बजारमा अनुचित क्रियाकलाप हुन नदिन आवश्यक सतर्कता र सावधानी अपनाउन निर्देश गरेको जानकारी दिए ।

उनले भने– ‘शेयर बजारलाई अनुचित ढंगले प्रभावित नगरोस् भन्नेकुरामा होशियार हुनुपर्छ र खासगरी नियामक निकायहरूले यो कुरालाई ध्यान दिनुपर्छ । मैले स्पष्टसँग निर्देशित गरेको छु, कुनैपनि प्रकारको अपारदर्शी क्रियाकलाप, कुनैपनि प्रकारले शेयर बजारलाई अनुचित ढंगले प्रभावित गर्ने प्रयासहरू हुनुहुँदैन भन्ने कुरामा स्पष्टसँग निर्देशन गरेको छु । बेला–बेलामा चर्चा हुने गर्छ, शेयर किन्न चाहँदा किन्न नपाउने, बेच्न चाहँदा बेच्न नपाउने खालको समस्याहरू पनि देखियो । सफ्टवेयरमा समस्या देखियो । भन्ने कोणबाट पनि चर्चा हुने गरेको छ । ति प्रश्नहरूमा गम्भीरतापूर्वक अध्ययन गर्न र कुनै पनि प्रकारका अवाञ्छित गतिविधि हुन नदिन र कुनैपनि लगानीकर्ताको लगानी डुब्ने स्थिति आउन नदिनको निम्ति शेयर बजारलाई परिपक्व ढंगले अगाडी बढाउनका निम्ति नियामक निकायले भुमिका निर्वाह गर्नुपर्छ भन्ने कुरा निर्देशन गरिरहेको छु । शेयरबजार अर्थतन्त्रको ऐना हो । यसलाई नकारात्मक टिप्पणी गर्ने होइन । नियामक निकायलाई आवश्यक सतर्कता, सावधानी, कुनैपनि प्रकारका अन्यथा क्रियाकलापहरू हुन नपाउन् भन्ने कुरामा होशियारी अपनाउनका निम्ति निर्देशित गरिएको छ ।’

उनले सहकारी क्षेत्रमा नियामक निकायको आवश्यकता अनुभूत भएको भन्दै कानूनसम्मत प्रबन्ध गरेर यस क्षेत्रको समस्यालाई समाधान गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − five =