विधेयक निर्माणमा सांसदहरूले उत्सुकता देखाएनन् : उद्योगमन्त्री (भिडिओ)

काठमाडौं । उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समितिमा विचाराधिन विधेयकलाई संसदमा छिटो पठाउन सांसदहरूले चासो दिनुपर्ने बताएका छन् ।
शुक्रवार सिंहदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा संशोधन कर्ता सदस्यहरूले उठाएका प्रश्नहरूबारे बोल्दै उनले यस्तो बताएका हुन् ।
समितिमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल भएको थियो ।
बैठकमा बोल्दै मन्त्री भण्डारीले विधेयकहरू अन्य समितिमा पनि छलफल र संशोधनका क्रम जारी रहेको बताए । उनले संसदको गत अधिवेशनमा पास गर्नुपर्ने जति कानुनहरू पास हुन नसकेको भन्दै अहिले विशेष ध्यान दिनुपर्ने बताए ।
उनले समिति सदस्यहरूको चासो, सरोकार र प्राथमिकतामा विधेयकहरू पर्नुपर्ने भन्दै सरकारको तर्फबाट पनि संसदलाई बढी भन्दा बढी बिजनेस दिनुपर्ने आवश्यकता रहेको बताए । उनले कानून निर्माण संविधान कार्यान्वयनका लागि महत्त्वपूर्ण रहेको बताए ।
उनले ऐन निर्माणबाट संविधानको कार्यान्वयनमा बल पुग्ने बताए । मन्त्री भण्डारीले प्रदेश वा स्थानीय तहमा संघीय संसदका कानुनहरू निर्माण भइसकेपछि मात्रै कानून लागू हुने र संघका आधारमा कानून निर्माण गर्ने हुँदा संघमा छिटो भन्दा छिटो कानून पारित गर्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले भने, ‘विधेयकहरू महत्त्वपूर्ण छन् । अन्य समितिहरूमा पनि यसैगरी छलफल र संशोधनका क्रम जारी छन् । गत संसदको अधिवेशनमा पनि हामीले जति कानुनहरू पास गर्नुपर्ने थियो, त्यो हुन सकेन । यतिखेर अलि बढी मान्यज्युहरुको चासो, सरोकार र अझ सरकारको तर्फबाट पनि बढी संसदलाई बिजनेस दिनुपर्छ । अहिलेका अत्यावश्यक कानुनहरू जो जरुरी छन्, संविधान कार्यान्वयनका लागि पनि अत्यावश्यक छन्, दूरगामी महत्वका ऐनहरू । यतिखेरको ती ऐनबाट संविधानको कार्यान्वयनमा बल पुग्छ । हामीले प्रदेश वा स्थानीय तहमा संघीय संसदका कानुनहरू निर्माण भइसकेपछि मात्रै तल पनि त्यो आधारमा कानून लागू हुने वा त्यो आधारमा कानून निर्माण गर्ने क्रम रहन्छ । त्यसैले यतिखेर मान्यज्युहरुले बढी सहभागिता, उत्सुकता देखाएर संसदलाई पनि बिजनस दिने र कानूनका अभावले प्रभावित भएका थुप्रै कामहरूलाई डेलिभरी दिन सकिन्छ । सरकारलाई प्रभावकारी बनाउन सकिन्छ ।’
मन्त्री भण्डारीले समितिमा विधेयकमा सांसदहरूले बढी सहभागिता, उत्सुकता देखाउन जरुरी रहेको बताए । कानून निर्माणसँगै कानूनका अभावले प्रभावित भएका थुप्रै कामहरूलाई डेलिभरी दिनसक्ने र सरकारलाई प्रभावकारी बनाउन सकिने बताए ।








