डुबान क्षेत्र अवलोकन गर्न बनेपा पुगेका मन्त्री स्थानीयका प्रश्नको घेरामा

काभ्रेपलाञ्चोक । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित पुलबजार डुबान क्षेत्रको आज अवलोकन गरेका छन् ।

उनले स्तरोन्नतिसहित निर्माणाधीन अरनिको राजमार्ग निरीक्षणका क्रममा डुबान क्षेत्रको अवलोकन गरी समस्याबारे स्थानीयसँग जानकारी लिएका हुन् ।

मन्त्री दाहाललाई बनेपा नगरपालिका–१० का वडाध्यक्ष चन्द्रबहादुर खड्का, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बनेपा नगर कमिटी अध्यक्ष रत्नकुश रञ्जित, सूर्य विनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका प्रतिनिधिलगायत स्थानीयले वर्षाको समयमा पुण्यमाता खोलाको बाढीका कारण पुग्ने क्षतिबारे जानकारी गराएका थिए ।

गत मङ्गलवार रातिको वर्षाले पुलबजार क्षेत्रका करिब ४० घर डुबानमा परेका थिए । बस्ती बढ्दा खोला साँघुरिएपछि केही वर्षदेखि उक्त खोलामा आउने बाढीले अरनिको राजमार्गसमेत अवरुद्ध हुँदै आएको छ ।

डुबान क्षेत्र अनुगमनका क्रममा मन्त्री दाहालले सडक डिभिजन कार्यालय भक्तपुरसँग समन्वय गरी डुबानमुक्त हुने तवरले निर्माणमा ध्यान दिइने बताए । उनले भने, “यस क्षेत्रलाई डुबानमुक्त बनाउन के गर्न सकिन्छ, सरोकारवाला निकाय र प्राविधिक छलफल गरी अघि बढ्नेछौँ ।” उनले यहाँको समस्याबारे स्थानीय तहका जनप्रतिनिधिसँग थप छलफल गरी निकास खोजिने बताए ।

मन्त्री दाहालले निर्माणाधीन अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्य विनायकदेखि धुलिखेलसम्म दुई चरणमा निर्माण थालिएको उक्त सडक अवलोकन गरेका छन् । मन्त्री दाहालले उक्त सडक विस्तारका क्रममा भएका प्रगति, समस्या तथा आगामी योजनामा सरकारको तर्फबाट गर्नुपर्ने कार्य विवरणबारे पनि जानकारी लिए ।

उनलाई सम्बन्धित निकायका प्रतिनिधिले साँगा क्षेत्रको निर्माण र त्यसले पारिरहेको प्रभाव, साँगादेखि बनेपा खण्ड निर्माण र स्थानीयले गरेको अवरोध, मुआब्जा वितरणलगायत सडकका अन्य समस्याका बारेमा जानकारी गराएका थिए ।

अनुगमनका क्रममा मन्त्री दाहालले चालु आवका लागि पुल निर्माण तथा मुआब्जालगायत विषयलाई प्राथमिकतामा राख्दै नागरिकले उठाएका सवाललाई सम्बोधन गरी सडक निर्माण समयमा सम्पन्न गर्न सडक विभाग र आयोजनालाई निर्देशन दिएका थिए ।

आयोजनाले पूर्वाधार निर्माणमा ८८ प्रतिशत प्रगति भएको जनाएको छ । आयोजनाका प्रमुख इन्जिनियर राजेन्द्रप्रसाद दासले स्थानीय तहको समन्वयमा ढल तथा खाने पानीका लाइनको मर्मत सम्भार तथा विस्तार, बिजुलीका खम्बाको विस्तारलगायतका काम भइरहेको जानकारी गराए ।

मन्त्री दाहालले सडक डिभिजन कार्यालय भक्तपुरका प्रतिनिधिसहित स्थानीय जनप्रतिनिधिसँग स्तरोन्नति भइरहेको धुलिखेल–खावा सडकको अवलोकन गरेका छन् ।

निर्माणाधीन उक्त धुलिखेल–खावा सडक खण्डको समय सीमा गत चैत १९ गते सकिएको थियो । केही महिना समय थपेर पुनः निर्माण थालिएपछि वर्षाको समयमा हिलोका कारण सवारी साधन आवतजावतमा कठिनाइ हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *