राजदूतको टिप्पणी सह्य छैन, चीनले हेक्का राखोस् : सभापति यादव
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले सिमलतालको पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता यात्रु र बसका बारेमा चिनियाँ राजदूत छन सोङले दिएको अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत भएको बताएका छन् । हराएका बस र यात्रु खोज्न भारतबाट आएको गोताखोर टोलीका बारेमा चिनियाँ राजदूतले गरेको टिप्पणी दुर्भाग्यपूर्ण रहेको उनले बताएका हुन् ।
नेपाल र चीनबीच कसरी राम्रो सम्बन्ध बनाउन सकिन्छ भन्ने मात्र अधिकार राजदूतलाई हुने उनले उल्लेख गरे । नेपालको आन्तरिक मामिलामा टिप्पणी गर्ने विषय सह्य नहुने उनले चेतावनी दिए । उनले यस्ता टिप्पणीले दुई देशबीचको सम्बन्धमा दरार उत्पन्न गराउने बताए । राजदूतले आफ्नो पदीय मर्यादाभन्दा बाहिर गएर आचरण गरेको उनको भनाइ छ ।
उनले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति त्यस विषयमा गम्भीर भएको उल्लेख गरे । समितिले परराष्ट्र मन्त्रालयसँग जानकारी माग्ने उनले बताए । मन्त्रालयसँग जानकारी लिएपछि समितिले आवश्यक निर्देशन दिने पनि उनले बताए । राजदूत सोङले सिमलताल पहिरोमा बेपत्ता मानिस र बस खोज्न भारतबाट आएको गोताखोर टोलीप्रति लक्षित गर्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए । त्यसबारेमा संसद् बैठकमा पनि सांसदहरूले आवाज उठाइरहेका छन् । राजदूतलाई बोलाएर स्पष्टीकरण सोध्नुपर्ने माग सांसदहरूको छ ।
- राजकिशोर यादवको भनाइ :-
नेपालमा दुर्भाग्यपूर्ण दुर्घटना भयो । त्यो दुर्घटनामा जो बेपत्ता मान्छेहरू र सँगैसँगै दुईवटा बस हराइरहेको छ, त्यसलाई अहिले पनि नेपाल सरकारले खोज्ने कार्यमा व्यस्त रहेको छ । सँगै नेपालले आफ्ना मित्रराष्ट्र अरूसँग पनि सहयोग मागेको स्थिति छ । त्यसमा भारतबाट खोज्ने टोली आएको र त्योसँग सम्बन्धित भएर नेपालका लागि चिनियाँ राजदूतले त्यसरी टिप्पणी गरेको छ । त्यो दुर्भाग्यपूर्ण हो । यसलाई उहाँले नेपाल र चीनको बीचमा कसरी राम्रो सम्बन्ध बनाउन सकिन्छ वा चिनियाँ स्वार्थ छ, त्यसलाई नेपालमा कसरी लागु गराउन सकिन्छ भन्ने प्रमुख कार्य हो । तर, उहाँले नेपालको आन्तरिक मामिलामा र त्यसमा पनि अहिले सामाजिक सञ्जालमा टिप्पणी गरेको छ, त्यसमा सम्मानित सदनमा यो कुरा उठेको छ । यो त दुई देशको सम्बन्धका लागि पनि राम्रो होइन । एउटा राजदूतले आफ्नो पदीय मर्यादाभन्दा बाहिर गएर आचरण गरेको देखिन्छ । यसको बारेमा वास्तवमा हाम्रो समिति गम्भीर भएको छ । परराष्ट्र मन्त्रालयले यसबारेमा के गर्दै छ, आगामी बैठकमा हामीले त्योसम्बन्धी परराष्ट्र मन्त्रालयसँग जानकारी माग्ने नै छौँ । तथापि, अहिले एउटा जनप्रतिनिधिको नाताले र समितिको नेतृत्वकर्ताको नाताले पनि नेपालको आन्तरिक मामिलामा हाम्रा मित्रराष्ट्रका राजदूतहरूले यसरी टीकाटिप्पणी गर्नु राम्रो होइन, गर्नु हुँदैन । यो नेपालको आन्तरिक मामिलामा हस्तक्षेपका रूपमा बुझेका छौँ । यसले दुई देशको सम्बन्धलाई राम्रो गर्दैन भनेर हेक्का राख्दा नै राम्रो हुन्छ । हामीले कुनै पनि देशको राजदूतलाई हाम्रो आन्तरिक मामिलामा टीकाटिप्पणी गर्ने, निर्देशन दिने कुरा सह्य हुँदैन । यो भयो भने अरू देशका राजदूतले यसो गर्, उसो गर् भनिरहन्छ । त्यसैले हामीले परराष्ट्र मन्त्रालयलाई के कारणले यस्ता टीकाटिप्पणी भइरहेको छ, यसलाई तत्काल रोकथाम गर्न मन्त्रालयले के पहल गरेको छ, त्यो जानकारी लिइसकेपछि मन्त्रालयलाई दिने निर्देशन र प्रभावकारी कदमका लागि काम हुनेछ ।