रास्वपा केन्द्रीय समिति हेरफेरको विवरण पुग्यो निर्वाचन आयोग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो केन्द्रीय समिति हेरफेर भएको विवरण निर्वाचन आयोगमा बुझाएको छ।
आफ्ना महामन्त्री मुकुल ढकाललाई पदमुक्त गरेपछि रास्वपाले अध्यावधिक विवरण आयोगमा पठाएको हो। रास्वपाले बिहीबार नयाँ जिम्मेवारीसहितको विवरणआयोगलाई बुझाएको रास्वपाका एक नेताले जानकारी दिए।
असार २५ गते बसेको केन्द्रीय समिति बैठकले मुकुललाई अनुशासनको कारबाही गर्दै महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट पदमुक्त गरेको थियो। त्यसअघि नै निलम्बन गरे पनि ३५ दिनको समय अपिलका लागि दिइएको थियो।
राजनीतिक दल सम्बन्धी ऐनमा विवरण हेरफेरको जानकारी ३० दिन भित्र निर्वाचन आयोगलाई बुझाउनु पर्ने ब्यवस्था छ।
रास्वपाले एक महिना पुग्नु अगाबै विवरण हेरफेरको जानकारी आयोगलाई बुझाएको छ ।
रास्वपाले रिक्त महामन्त्रीको जिम्मेवारी कार्यवाहक महामन्त्रीको रुपमा सहमहामन्त्री एवं संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीलाई दिएको छ।
प्रवक्ताको जिम्मेवारी कार्यवाहक प्रवक्ताको रुपमा सहप्रवक्ता मनिष झालाई दिएको छ।यता मुकुलले भने आयोगलाई नयाँ विवरण अध्यावधिक नगरिदिन भनेका छन्।








