सांसदहरुको माग– राज्यका सबै निकायहरूमा सदाचार कायम हुनुपर्‍यो

काठमाडौं । राष्ट्रिय सभा सदस्यहरूले राज्यका सबै निकायहरूमा सदाचार कायम हुनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सुशासनको प्रवर्द्धन गर्न राष्ट्रिय सदाचार नीति जारी गर्ने सम्बन्धमा भएको छलफलमा बोल्दै राष्ट्रिय सभा सदस्यहरूले राज्यका सबै निकायमा सदाचार कायम हुनुपर्नेमा जोड दिएका हुन् । सदस्यहरूले सदाचार नीति आवश्यक भएको बताएका छन् ।

तर नीति ल्याएर मात्रै नहुने भन्दै त्यसको कार्यान्वयनमा पनि ध्यान दिनुपर्ने उनीहरूको भनाई छ । बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीले सदाचार नीति बनाएर लागु गर्न सरकारलाई आग्रह गरे ।

उनले स्वेच्छिक, स्वघोषित व्यवहारमा कार्यान्वयन गर्न गरिएको नैतिक अठोट नै सदाचार भएको भन्दै संविधान र कानुन भन्दा यसको नैतिक मुल्य महङ्गो हुने बताए । उनले राजनीतिक नेतृत्व र कर्मचारीलाई अनुशासित, शतर्क र जवाफदेही बनाउनका लागि निश्चित विधि बनाउनुपर्ने बताए ।

उनले भने – ‘सदाचार एउटा यस्तो नैतिक मान्यता हो । जो व्यवहारमा प्रकट हुनुपर्छ । त्यो मुखले भनेर हुँदैन । त्यो मान्छे कति सदाचारी छ भन्ने कुरा उसको व्यवहारबाट थाहा हुन्छ । उसको व्यवहारमा प्रकट हुन्छ । यो विधान वा कानुन होइन । स्वेच्छिक, स्वघोषित व्यवहारमा कार्यान्वयन गर्न गरिएको नैतिक अठोट हो सदाचार भनेको । संविधान र कानून भन्दापनि यसको नैतिक मूल्य महङ्गो हुन्छ । सदाचार नीति धेरै ठूलो बनाउनु पनि जरुरी छैन । धेरै व्याख्यात्मक पनि जरुरी छैन । राजनीतिक नेतृत्व र कर्मचारीलाई अनुशासित, सतर्क र जवाफदेही बनाउनका लागि निश्चित विधि बनाउनुपर्छ सरकारले ।’

राष्ट्रिय सभा सदस्य उर्मिला अर्यालले सदाचार कायम गर्न सरकार जिम्मेवार भएको धारणा राखिन्। उनले नेता र नेतृत्वले सही सोच राखेर काम गर्नुपर्ने भन्दै कर्मचारीलाई दोष दिएर नहुने बताइन् ।

उनले भनिन् – ‘मुल समस्या सदाचार भनेपनि जे भनेपनि यदि सरकारले म अभिभावक हुँ सम्पूर्ण जनता मेरो हुन् म केही हुन दिन्न भन्ने खालको सरकारले अठोट गरिदियो भने म कर्मचारीलाई केही भन्नै चाहान्न । मुल नेता र नेतृत्व हुन् । नेता र नेतृत्वले सही सोच राखेर काम गर्नुपर्‍यो ।’

राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्माले राजनीतिक क्षेत्रमा राजनीतिक इमान्दारिता र नैतिकता चाहिने भन्दै पार्टीहरूमा त्यो भए/नभएको मूल्याङ्कन गर्नुपर्ने बताए । उनले आचरणको हिसाबले नेपाली समाज धेरै पछाडि परेको बताए ।

उनले भने – ‘सदाचार जीवनको हर कालखण्डमा लागू हुन्छ । पार्टीभित्र लागू हुन्छ । सरकारमा लागू हुन्छ । विभिन्न मन्त्रालयमा लागू हुन्छन् । राजनीतिक क्षेत्रमा पनि न्यूनतम राजनीतिक इमान्दारिता र नैतिकता चाहिन्छ । हामी पार्टीहरूको बिचमा त्यो छ कि छैन ? हामीले आफैँलाई मूल्याङ्कन गरौँ । आचरणको हिसाबले हाम्रो समाज धेरै पछाडि छ । त्यही समाजको प्रतिनिधि बनेर आएका हामीहरू पनि धेरै पछाडि छौँ कि भन्ने कुरोको इंकित गर्छ अहिलेको छलफलले ।’

राष्ट्रिय सभा सदस्य घनश्याम रिजालले सरकारले गरेका कामहरू सदाचारी हुन् कि होइनन् भनेर प्रश्न उठाए । उनले सूचनाको हक नदिएर संविधान उल्लंघन गरेको कसुरमा जरिवाना तिरेका व्यक्तिले राजनीतिक नियुक्ति पाएको उल्लेख गर्दै यो सदाचार नीति भित्र पर्छ कि पर्दैन भनेर प्रश्न गरे । उनले विभिन्न आरोप लागेका व्यक्तिहरू मन्त्री बनेका भन्दै यसप्रति पनि सरकारको ध्यानाकर्षण गराए ।

उनले भने– ‘सरकारले गरेका कामहरू सदाचारी हुन् कि होइनन् भन्ने सन्दर्भमा मैले हेरेँ । सूचनाको हक सम्बन्धी कसुरमा, संविधानको उल्लंघन गरेको कसुरमा १५ हजार जरिवाना भएको व्यक्ति, जसलाई सर्वोच्च अदालतले पनि ठहर गरेको छ । त्यो व्यक्ति सरकारले प्राथमिकतामा राजनीतिक नियुक्ति गरेको छ । यो सदाचार नीति भित्र पर्ला कि नपर्ला ? विभिन्न आरोप लागेका व्यक्तिहरू नै मन्त्रीको रूपमा छानिनुभएको छ ।’

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले राज्यले सदाचार लागू गर्ने भए कानून बनाएर लागू गर्नुपर्ने बताए । उनले नीतिद्वारा सदाचार लागू नहुने धारणा राखे । नीति ठोस नहुने भन्दै सदाचार कानून बनाएर ठोस रूपमा लागू गर्नुपर्नेमा उनको जोड छ ।

उनले भने – ‘सदाचार भनेको राम्रो आचरण गर्ने भनेको हो । यति शब्दको अर्थ लगाइदिने बित्तिकै पनि धेरै स्पष्ट हुन्छ । यो सदाचार साँच्चिकै राज्यको तर्फबाट जारी गर्नुपर्ने हो भने कानून बनाएर लागू गर्नुस् । राज्यले कानुनद्वारा लागू गर्नुपर्छ । नीतिद्वारा लागू गर्ने होइन । नीति धेरै ठोस हुँदैन । सदाचार त आचारणसँग सम्बन्धित हो । सदाचार राम्रो आचरण हो त्यो राम्रो आचरण कहाँबाट शुरु गर्ने ?’

राष्ट्रिय सभा सदस्यहरूले नेपालमा नीति धेरै भएको भन्दै नीतिहरूको कार्यान्वयन भने हुन नसकेको बताए । नीतिहरूलाई कार्यान्वयन गर्नुपर्नेमा सबैको जोड रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 12 =