सौर्य जहाज दुर्घटनाका घाइते पाइलट भेट्न केएमसी पुगे कांग्रेस उपसभापति खड्का (भिडिओ)

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले हवाई दुर्घटना एवं सडक दुर्घटना न्यूनीकरणका लागि सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।
बिहीवार सौर्य विमान दुर्घटनाबाट घाइते पाइलट मिनषरत्न शाक्यको स्वास्थ्यअवस्था बुझ्न काठमाडौं मेडिकल कलेज पुगेका उपसभापति खड्काले यस्तो बताएका हुन् ।
उनले आफूले पाइलट शाक्यलाई भेटेको र उनको स्वास्थ्यअवस्था सुधारोन्मुख हुँदै गएको बताए । उनले विमानस्थलमा थप केके सुविधा थप्नुपर्ने हो त्यसमा आवश्यक ध्यान दिनुपर्ने बताए ।
उनले भने, ‘हामीले विमान चालक मनिषरत्न शाक्यलाई भेट्यौँ । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख थियो । उनको उपचार अझै जारी रहने चिकित्सकहरूले भनेका छन् । उनले आफ्नो स्वास्थ्य निकै सुध्रिएको बताएका छन् । सबैको आशीर्वादले पुनःजन्म पाएको बताए । उनी कुरा पनि गर्नसक्ने अवस्थामा हुनुहुन्छ । पुनःजन्म हुन्छ भन्नेकुरा उनीबाट प्रमाणित भएको छ । उनले अब सबै ठिक भएपछि जाँचबुझ समितिसँग धेरै कुरा बताए । जसले गर्दा विमान दुर्घटनाका बारेमा जानकारी हुनेछ । हामीले सबैले प्रयत्न गर्दागर्दै पनि दुर्घटना भएका छन् । सडक, हवाई दुर्घटनालाई सबै राजनीतिक दल, सरकारले गम्भीरतापूर्वक लिनुपर्छ । विमानस्थलमा थप केके सुविधा गर्नुपर्छ त्यो गर्ने, दुर्घटना रोक्न धेरै गम्भीर हुनुपर्छ ।’
नेपाली काँग्रेसका सांसद एवं अस्पतालका प्रमुख डा. सुनिल शर्माले पूर्वजन्ममा धेरै पुण्य गरेको फल अहिले प्राप्त भएको बताए । उनले काठमाडौं मेडिकल कलेज प्राविधिक रूपमा कति सक्षम भन्नेकुरा पनि आम नागरिकलाई जानकारी मिलेको बताए । उनले अस्पताल र चिकित्सकहरूको मेहनतले पाइलट शाक्यलाई बचाउन सकेको बताए ।
उनले भने, ‘पुर्खाहरूले राम्रो कर्म गरेकाले धेरे पुण्य काम गरेकाले उहाँ जीवित हुनुहुन्छ । किनभने सबै मर्ने उहाँ बाँच्नसक्ने भन्ने हुँदैन । उपचार गरेर उहाँलाई जोगाउने हाम्रो चिकित्सक टिमलाई पनि धन्यवाद दिन्छु । काठमाडौं मेडिकल कलेज प्राविधिक रूपमा कति सक्षम छ, भन्नेकुरा पनि आम जनतालाई बुझ्न सजिलो बनाएको छ ।’
यता, अस्पतालकी निर्देशक डा.मिना थापाले पाइलट शाक्यको अवस्था सामान्य हुँदै गएको बताइन् । अवस्था सामान्य बन्दै गएपनि घरमा उपचार भने जारी राख्नुपर्ने बताइन् ।
‘मनिषरत्न शाक्यको स्वास्थ्य स्थिति सामान्य हुँदै गएको छ । सोचेअनुसारको स्वास्थ्य अवस्था सुधार भएको छ,’उनले भनिन्,‘उनको उपचार घरमा बसेर पनि लगातार हुन्छ । उनको ढाडको एउटा हड्डि भाँचिएको हो ।’
उनले तत्काल काममा फर्किनसक्ने अवस्था भने नरहेको बताइन् । पाइलट शाक्यलाई आज नै डिस्चार्ज गर्ने तयारी रहेको अस्पतालले जनाएको छ । साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको विमान धावनमार्गनजिकै दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए । सोही घटनामा शाक्यलाई भने घाइते अवस्थामा उद्धार गरेर केएमसी लगिएको थियो ।








