पेट दुख्यो भनेर अस्पताल गएका कैदी प्रहरीलाई धकेलेर फरार

काठमाडौं । विराटनगरको कोसी अस्पतालबाट जबरजस्ती करणी मुद्दाका एक कैदी फरार भएका छन् ।

विराटनगरको हाटखोलास्थित जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमद फरार भएको कारागार प्रशासनले जनाएको छ ।

कारागारका निमित्त जेलर तुलसी पौडेलका अनुसार पेट दुख्ने समस्याका कारण बिरामी परेका अहमदलाई गत मंगलबार उपचारका लागि कोसी अस्पताल भर्ना गरिएको थियो ।

विराटनगर महानगरपालिका–८ घर भएका अहमद उपचाररत अस्पतालबाटै बिहीबार बिहान फरार भएको पौडेलले जानकारी दिए । उनका अनुसार अहमद जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी हुन् । मोरङ कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए ।

अहमदको निगरानीका लागि कारागारले प्रहरी सहायक हवलदार राजीव राजभण्डारी र जवान ज्ञानेन्द्रबहादुर कटवाललाई खटाएको थियो । पौडेलका अनुसार शौचालय जाने बहानामा प्रहरीलाई धकेलेर फरार भएका कैदीको खोजी तीव्र पारिएको छ ।

घटनाको अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । जिल्ला अदालत मोरङले २०७९ फागुन २९ गते उनलाई १२ वर्ष कैद र ५ लाख जरिवानाको फैसला गरेको पाइएको छ ।

त्यस्तै, पीडक अहमदबाट पीडितलाई १ लाख क्षतिपूर्ति भराउने र पीडित राहत कोषमा २० हजार रुपैयाँ जम्मा गर्नुपर्ने फैसला पनि अदालतले गरेको थियो ।

अहमदले अदालतको फैसला अनुसार २०९१ साल फागुन ३ गतेसम्म कारागारभित्र बस्नुपर्ने हुन्थ्यो । तर, कैद सजाय भुक्तान गर्न थालेको डेढ वर्ष पूरा नहुँदै उनी फरार भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =