आपराधिक गतिविधिमा राजनीतिक दलहरू आफैँ संलग्न छन् : रघुजी पन्त
काठमाडौं । सत्तारुढ नेकपा (एमाले) का सांसद एवं पूर्वमन्त्री रघुजी पन्तले तराईमा हुने आपराधिक घटनामा राजनीतिक पार्टीका मानिसहरु आफैँ संलग्न रहेको आरोप लगाएका छन् ।
बुधवार सङ्घीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले सो जिकिर गरेका हुन् ।
तराईका पोलिटिसिएनहरुले कुनै न कुनै रुपमा त्यहाँ हुने आपराधिक गतिविधिमा सम्बन्ध राखेका कारण त्यहाँको अपराध नियन्त्रण गर्न प्रहरीले नसकेको सांसद पन्तको जिकिर थियो ।
उनले सबै राजनीतिक दलका मानिसहरूको तराईमा आपराधिक गतिविधिमा सम्बन्ध भएकाले त्यहाँको अपराध नियन्त्रण गर्नका लागि सरकारले सो विषयमा विशेष ध्यान दिनुपर्ने बताए ।
सांसद पन्तले खुला सिमानाको नियमनका कडाइ गर्न सके पनि नेपालको तराई क्षेत्रमा हुने आपराधिक गतिविधिमा आधा न्यूनीकरण गर्न सकिने दाबी गरे ।
सांसद पन्तले सुरक्षाकर्मीहरूलाई अत्यावश्यक बस्तुको अभाव हुन नदिन पनि सरकारलाई सचेत गराए ।