नेपाल प्रहरी ऐनलाई नयाँ विधेयकको रुपमा छिट्टै संसदमा पेश गर्छौं : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी ऐन, २०१२ लाई नयाँ विधेयकको रुपमा छिट्टै संसदमा पेश गर्ने बताएका छन् ।
बुधवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले प्रहरीको संगठनलाई सुदृढ,गर्न, मुलुकमा न्याय व्यवस्था, विधिको शासन कायम गर्न नेपाल प्रहरीको नयाँ कानून निर्माण गर्ने तयारीमा सरकार रहेको स्पष्ट पारे ।
‘अहिले हाम्रो प्राथमिकता भनेको केही कानूनहरुको निर्माण हाम्रो प्राथमिकता हो । नेपाल प्रहरी ऐन २०१२ सालदेखि अहिलेसम्म त्यही कानूनले काम चलाईराखेका छौं हालै धेरै संशोधनहरु भएका छन । परिमार्जनहरु भएका छन् । त्यही अवस्था हो भन्ने होइन,’ उनले भने,‘तथापि आजको दिनमा एउटा नयाँ प्रहरी कानून चाहिन्छ, जसले प्रहरीको संगठनलाई सुदृढ गर्छ । र प्रहरीको संगठनले मुलुकमा न्याय व्यवस्था, विधिको शासन कायम गर्छ भन्ने कुरा भएको हुनाले नेपाल प्रहरी ऐन २०१२ नयाँ विधेयकको रुपमा प्रस्तुत गर्ने हाम्रो तयारी छ ।’
उनले सरकाले सशष्त्र प्रहरी बल, नेपाल ऐनलाई पनि समसामयिक बनाउने गरी नयाँ विधेयक संसदमा पेश गर्ने भएकाले त्यसलाई गम्भिर र अर्थपूर्ण रुपमा छलफल गरेर निष्कर्षमा पु¥याउने काममा लाग्न पनि संसदीय समितिहरुलाई आग्रह गरे ।
मुलुकको शान्ति सुरक्षा र अमनचैन कायम हुनेगरी सरकारले कानून निर्माणको कामलाई प्राथमिकता दिएको गृहमन्त्री लेखकको भनाई थियो ।
‘त्यसैगरी शान्ति सुरक्षासँग जोडिएका अरु कानूनहरु छन्,’उनले भने,‘अर्थपूर्ण, गम्भिर छलफल गरेर देशलाई नयाँ कानून दिनसक्यौं भने यसले अहिलेको प्रहरी प्रशासनलाई, अहिले शान्ति सुरक्षाको जिम्मेवारी लिएको अंग प्रत्यङ्गहरुलाई यसले बलियो बनाउँछ, सुदृढ बनाउँछ । त्यसका लागि कानून ल्याउँछौं । यो हाम्रो प्राथमिकता हो ।’
गृहमन्त्री लेखकले कर्मचारी सरुवा हुने कुरालाई सामान्य रुपमा लिन पनि सांसदहरुलाई आग्रह गरे ।
सरुवालाई सरुवाको रुपमा बुझ्दा सही हुने र त्यसले देश र जनताको पक्षमा काम गर्न सरकारलाई पनि सहयोग पुग्ने उनले बताए ।








