दुई सय ३२ साना तथा घरेलु उद्योग खारेज

पर्सा । गत आर्थिक वर्षमा पर्सामा दुई सय ३२ साना तथा घरेलु उद्योग खारेज भएका छन् ।

आर्थिक सङ्कटका कारणले उद्योगलाई निरन्तरता दिन नसकेपछि साना तथा घरेलु उद्योग सञ्चालकहरू घरेलु तथा साना उद्योग कार्यालय पुगेर उद्योग खारेजी गराउन थालेका हुन् ।

घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख उद्योग अधिकृत धनञ्जयकुमार सिंहले भने, ‘आर्थिक मन्दीका कारण थलापरेका साना तथा घरेलु उद्योग बन्द हुने क्रम बढेको छ ।अर्कोतर्फ सरकारले आव २०८१/८२ को बजेट वक्तव्यसँगै ल्याएको आर्थिक विधेयकमा वर्षौंदेखि नवीकरण नगर्ने साना तथा घरेलु उद्योग खारेजीमा २५ प्रतिशत छुट दिने प्रावधानको कारण पनि धेरै उद्योग खारेजीमा परेका हुन्’, उनले भने ।

उनले पछिल्लो समय घरेलु तथा साना उद्यम गर्ने उद्यमीलाई सहज रूपमा बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा प्राप्त नगर्दा पनि समस्या भइरहेको बताए ।

‘अहिले जताततै आर्थिक मन्दीले अर्थतन्त्रलाई शिथिलतातर्फ लगिरहेको छ । जसको कारण साना तथा घरेलु उद्योग मारमा परिरहेका छन्’, उनले भने, ‘राज्यले साना तथा घरेलु उद्योगलाई प्रोत्साहन गर्ने वातावरण बनाउन आवश्यक छ ।’

पर्सा जिल्लामा आव २०७९/८० मा भने एक सय ७७ वटा साना तथा घरेलु उद्योग खारेजीमा परेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *