सरकारले स्रष्टाहरूको सम्मान गर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले स्रष्टाहरूको सम्मान गर्ने बताएका छन् ।
एमाले साहित्य, कला तथा संस्कृति विभागले मंगलवार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजना गरेको स्रष्टा भेटघाट तथा कृति लोकार्पण कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले जनतामा जागरण ल्याउनका लागि स्रष्टाहरूले दिएको योगदान सदा स्मरणीय रहिरहने बताए । उनले स्रष्टाहरूसँगको भेटघाट सर्वदा मिठो हुने टिप्पणी समेत गरे । जनवादी कलाकारहरू रामेश, रायन लगायतले जनचेतना अभिवृद्धिमा पुर्याएको योगदान अतुलनीय रहेको पनि प्रधानमन्त्री ओलीले उल्लेख गरे ।
उनले भने ‘म पुराना साथीहरूको योगदानहरूको सम्मान गर्न चाहन्छु, स्मरण गर्न चाहन्छु । अरु साथीहरूको मैले नाम उल्लेख गरिन होइन, अब कसको नाम उल्लेख गर्ने, कसको नगर्ने ? शुम्भ राईको उल्लेख गर्दा बमबहादुरको छुट्ला भन्ने डर । यसरी धेरै महत्वपूर्ण योगदान साथीहरूले गर्नु भएको छ । म सबै साथीहरूलाई एकमुष्ट सम्मान गर्न चाहन्छु ।’
एमालेले पछिल्लो केही वर्ष यतादेखि साउन १५ गते खिर खाने दिनको अवसर पारेर स्रष्टाहरूसँग भेटघाट गर्ने कार्यक्रम तय गर्दै आएको छ । प्रधानमन्त्री ओलीले सो कार्यक्रमले स्रष्टाहरूले देश र जनताका लागि दिएको योगदानको स्मरण गराउने बताए ।








