माओवादी केन्द्रको निर्णय- प्रमुख प्रतिपक्षको भूमिकालाई सशक्त बनाउने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले प्रमुख प्रतिपक्षको भूमिकालाई सशक्त बनाउने निर्णय गरेको छ ।

मंगलवारको पदाधिकारी बैठकपछि पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको बैठकले सो निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । उनले ५ दिनदेखिको छलफलमा गम्भीर रुपमा छलफल भएको बताए । उनले प्रमुख प्रतिपक्षको भूमिकालाई सशक्त रुपमा निर्वाह गर्ने, सदनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताए ।

उनले जनताका जल्दा बल्दा समस्याहरू र पार्टी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले सामाजिक न्यायसहितको सुशासन, समृद्धिका सवाललाई अझ खोज अनुसन्धानसहित गम्भीरतापूर्वक उठाउने र भ्रष्टाचारबिरोधी अभियान अघि बढाउन सरकारलाई दबाब दिने निर्णय भएको बताए ।

उनले आगामी निर्वाचनमा एक्लै चुनाव लड्नेगरी तयारी गर्ने निर्णय भएको पनि बताए ।

उनले भने ‘५ दिनदेखि बैठकमा छलफल गरिरहेका थियौँ । घनिभूत छलफल भएको छ । प्रमुख प्रतिपक्षको भूमिकामा पनि हामी छौँ । प्रमुख प्रतिपक्षको भूमिकालाई सशक्त रुपमा निर्वाह गर्ने, सदनलाई प्रभावकारी बनाउने, हाम्रो संख्या कम छ र कम भएपनि गुणात्मक बनाउने, देश र जनताका जल्दा बल्दा समस्याहरू र पहिला हाम्रो सरकारले सुरु गरेका सामाजिक न्यायसहितको सुशासन, समृद्धिका सवाललाई अझ खोज अनुसन्धानसहित गम्भीरतापूर्वक उठाउने र ती भ्रष्टाचारबिरोधी अभियान अघि बढाउन सरकारलाई दबाब दिने, आगामी निर्वाचनमा एक्लै चुनाव लड्नेगरी तयारी गर्नुपर्छ । जसले गर्दा हाम्रा विचार, राजनीतिक कार्यदिशा, दृष्टिकोण जनतामा सोझै पुग्न सकियोस् । यो जनतामा जाने सुवर्ण अवसर पनि हो । वृहत् वामपन्थी एकीकरणलाई संयुक्त मोर्चालाई बिस्तार गर्दै लैजान्छौँ । कम्युनिष्ट पार्टीको पुनः गठन निश्चित हुन्छ ।’

उनले वृहत् वामपन्थी एकीकरणलाई संयुक्त मोर्चाबाट बिस्तार गर्दै जाने र कम्युनिष्ट पार्टीको पुनः गठन निश्चित गर्ने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *