मेरो देशभक्ति मेरो दैनिकीमा झल्कन्छ : स्वर्णिम वाग्ले
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई अराष्ट्रिय तत्वको रुपमा भाष्य निर्माण गर्न लागिएको भन्दै खेद व्यक्त गरेका छन् ।
मङ्गलवारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीमा युवा शक्ति र विदेशमा पढेको, अनुभव हासिल गरेको शक्ति भएको भन्दै उनीहरूलाई भ्रष्टाचारको आरोप लगाउन नसकिने बताए । उनले पञ्चायतकालमा काँग्रेस, कम्युनिस्टलाई अराष्ट्रिय तत्व भनेजस्तै अहिले रास्वपालाई अराष्ट्रिय तत्वको रुपमा भाष्य निर्माण गर्न खोजिएको भन्दै यसप्रति खेद व्यक्त गरे ।
उनले भने ‘राष्ट्रिय स्वतन्त्र पार्टीले जलेश्वरमा एउटा प्रस्तावना तयार गरेको छ । नेपालको इतिहास, सनातन सभ्यता, धार्मिक, सांस्कृतिक विविधतामा आधारित सह–अस्तित्व र पारिस्परिक सम्मान, विश्वभर फैलिएका नेपालीहरूको सामूहिक सामर्थ्य र एसियाको उदाउँदो भु–राजनीतिक महत्वलाई आत्मसात् गर्दै नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई सदा अक्षुण राख्नु नै राष्ट्रिय स्वतन्त्र पार्टीको अभिष्ट रहने छ भनेर स्पष्ट राखिएको छ । विषयान्तर गर्ने, कुरो नबुझ्ने, बुझेपनि बुझ पचाउने र हाकाहाकी झुठो बोलेर पञ्चायतकालमा कांग्रेस, कम्युनिस्टलाई अराष्ट्रिय तत्व भनिन्थ्यो । रास्वपामा युवा शक्ति छ । विदेशमा पढेका, अनुभव हासिल गरेका । यिनीहरूलाई भ्रष्टाचारको आरोप लगाउन सक्नुहुन्न । अक्षमताको आरोप लगाउन सक्नुहुन्न । पञ्चायतकालिन स्मरण गर्दै अराष्ट्रिय तत्वतिर भाष्य निर्माण गर्दै छौँ त्यो खेदजनक छ । त्यसलाई हामी डटेर सामना गर्छौं ।’
उनले राष्ट्रको चिन्ता गर्ने राष्ट्रवाद भएको भए आज अफगानिस्तानपछि दोस्रो तन्नम मुलुकको रुपमा नेपाल नरहने भन्दै कस्तो खालको राष्ट्रवादको अभ्यासले नेपाललाई त्यहाँ पुर्याइएको हो भनी प्रश्न गरे । उनले आफूहरू छिमेकी राष्ट्रहरूको उन्नयन र प्रगतिमा गाँसिएर आफ्नो सार्वभौमिकतालाई अक्षुण राख्दै हाक्काहाक्की संवाद गर्नसक्ने बताए । उनले रास्वपाले नयाँ कूटनीति र नयाँ राजनीतिको संस्कार बसाउन लागेको बताए ।
उनले भने ‘राष्ट्रको चिन्ता गर्ने राष्ट्रवाद भएको भए आज अफगानिस्तानपछि दोस्रो तन्नम मुलुकको रुपमा नेपाल रहने थिएन । कस्तो खालको राष्ट्रवादको अभ्यासले तपाईँहरूले नेपाललाई त्यहाँ पुर्याउनुुभयो ? हामी छिमेकी राष्ट्रहरूको उन्नयनमा, प्रगतिमा गाँसिएर आफ्नो सार्वभौमिकतालाई अक्षुण राख्दै लिने । हाक्काहाक्की संवाद गर्ने । आँखामा आँखा जुधाएर कुराहरू राख्ने । हामीलाई मध्यरातमा खुफिया एजेन्सीका प्रमुखहरूलाई बोलाएर गोप्य मन्त्रणा गर्नु छैन । कुनै नदिनालाका सन्धिहरूलाई देखाएर राष्ट्रघातको जगमा पार्टी नै फुटाउने दुःशाहस गर्नु पनि छैन । हामी नयाँ कूटनीति, नयाँ राजनीतिको संस्कार बसाउन लागेका छौँ । अरूको राष्ट्रवाद कागज र भाषणमा होला । मेरो देशभक्ति मेरो दैनिकीमा झल्कन्छ । मेरो देशभक्ति उन्नत विकल्पहरू त्याग्दै मैले रोजेको असाधारण कर्ममा गएर देखिन्छ । मेरो आग्रह छ, नयाँ शक्तिलाई गलाउने, झुकाउने, क्यारिकेचर बनाउने, झुटो बोलेर यसलाई पन्छाउन सकिन्छ कि भन्ने दुःशाहस कसैले नसोच्नुहोला ।’
उनले आफ्नो राष्ट्रवाद दैनिकीमा भल्किने र कर्ममा देखिने बताए ।