सरकारले साहित्यिक पत्रिकाहरूका लागि आवश्यक आर्थिक सहयोगको व्यवस्था गर्नुपर्छ : रघुजी पन्त

काठमाडौँ । सत्तारुढ नेकपा (एमाले) का सांसद रघुजी पन्तले साहित्यिक पत्रिकाहरूलाई आर्थिक सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
मंगलवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले सो कुरा बताएका हुन् । सांसद पन्तले हाम्रो भाषा, संस्कृति र साहित्यका जोगाउनका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएकाले ती पत्रिकाहरूलाई सरकारले आर्थिक सहयोग र विज्ञापनको पनि आवश्यक व्यवस्था मिलाउनुपर्ने बताए ।
उनले प्रकाशक र सम्पादकले आफ्नो लगानी गरेर ती पत्रिकाहरू जोगाउन सकिने अवस्था नरहेकाले पनि सरकारले त्यसका लागि आर्थिक सहायता उपलब्ध गराउनुपर्ने तर्क गरे ।
उनले भने ‘हाम्रो संस्कृति र साहित्यलाई जोगाउनका लागि साहित्यिक पत्रिकाहरूको महत्वपूर्ण योगदान छ । त्यसैगरी बच्चाहरूलाई सानैदेखि आफ्नो भाषा र संस्कृति बुझाउन पनि बाल साहित्यिक पत्रिकाहरूको महत्वपूर्ण योगदान छ । तर अहिले कस्तो स्थिति छ भन्दाखेरि सम्पादक/प्रकाशकले आफ्नो खर्चले निकाल्नुपर्ने, सरकारको कुनै उत्तरदायित्व नहुने एउटा परिस्थिति उत्पन्न भएको छ । म नेपाल सरकार खास गरेर सञ्चार मन्त्रालय र संस्कृति मन्त्रालयको चाहिँ यसतर्फ ध्यानाकर्षण गराउन चाहन्छु । र ती पत्रिकाहरूलाई जोगाउनका लागि आर्थिक सरसहयोग र विज्ञापनको व्यवस्था गर्ने कुरामा सरकारको र सम्बन्धित मन्त्रालयहरूको ध्यान जाओस् ।’
सांसद पन्तले सरकारले साहित्य र संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने पनि बताए ।








