देश र जनताका लागि आवश्यक पर्दा जोसिनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताका लागि आवश्यक पर्दा जोसिनुपर्ने बताएका छन् । युगकवि सिद्धिचरण श्रेष्ठको एक सय १३ औँ जन्मजयन्ती समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युगकविका रचनाले क्रान्तिमा होमिएका युवाहरूको उदाहरण दिँदै देश र जनताका लागि आवश्यक पर्दा युवाहरू जोसिनु स्वाभाविक रहेको बताएका हुन् ।

‘जसरी नेपाल–अङ्ग्रेज युद्धका बेला नेपाली जोसिएका थिए, त्यसरी नै आवश्यक पर्दा कहिलेकाहीँ जोसिनुपर्छ, युवाहरू चम्किनुपर्छ’, उनले भने । प्रम ओलीले आफू पनि युगकवि सिद्धिचरणबाट वैचारिक र साहित्यिक रूपमा प्रभावित रहेको उल्लेख गरे । ‘उनी मेरो पनि गुरु हो, उनीबाट म अति प्रभावित छु’, उनले भने, ‘उनले लेखेका गीतको प्रेरणाबाट धेरै युवाहरू क्रान्तिमा होमिन र सहिद हुन तयार भए । गङ्गालाल श्रेष्ठ पनि उनकै गीतबाट प्रभावित भई सहिद भएको प्रसङ्ग आयो । म पनि क्रान्तिमा होमिएको थिएँ ।’

युगकविका सिर्जनाबाट धेरै स्रष्टाको सिर्जनामै प्रभाव परेको उनको भनाइ थियो । युगकवि सिद्धिचरण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा युगकवि सिद्धिचरण पुरस्कार प्राडा उषा ठाकुरलाई नगद एक लाखसहित प्रदान गरियो । युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजनका लागि ओखलढुङ्गा संवाददाता नवराज कार्की नग ४० हजारसहित पुरस्कृत भए ।

सोही समारोहमा प्रतिष्ठानद्वारा प्रकाशित ‘युगकवि सिद्धिचरणका गद्य कविता’ र ‘विज्ञका दृष्टिमा युगकवि’ नामक दुईवटा कृति विमोचन गरिएको छ । वि.सं १९६९ जेठ ९ गते जन्मिएका युगकवि श्रेष्ठको जन्मजयन्ती समारोह जेठ ९ गते गरिँदै आएकामा यस वर्ष उनकी सुपुत्रीको निधन भएकाले स्थगित गरी आज सम्पन्न गरिएको हो ।

कार्यक्रमको अध्यक्षता युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष कवि बैरागी काइँलाले गरेका थिए । समारोहमा प्रतिष्ठानका संरक्षक रविचरण श्रेष्ठ, प्रधानसेनापति प्रभुराम शर्मालगायत साहित्य र प्राध्यापन क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

कवितामा क्रान्ति शब्द प्रयोग गरेकै कारण तत्कालीन राणा शासकहरूले सिद्धिचरण श्रेष्ठलाई सर्वस्वसहित १८ वर्ष कारावासको सजाय सुनाएको थियो । उनी पाँच वर्ष जेल सजायपछि वि.सं २००२ मा जेलमुक्त भएका थिए । उनका हालसम्म ३९ कृति प्रकाशित भइसकेका छन् । अझै प्रकाशोन्मूख सातवटा कृति रहेको युगकवि सिद्धिचरण प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 4 =