टीआरसीका विवादित विषयमा शीर्ष दल सहमति नजिक, बिहीबार पुनः बसेर टुंग्याइने

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिनजिक पुगेको छ । सोमबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकले विधेयकमा सैद्धान्तिक सहमति गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कार्यदलका सदस्य एवं नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले टीआरसी विधेयक करिब टुंग्याउने चरणमा पुगेको बताए । आजको छलफलमा सहजीकरण कार्यदलका सदस्य नेपाली कांग्रेसका गृहमन्त्री रमेश लेखक, एमाले मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जर्नादन शर्मा सहभागी थिए । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, संसदको कानून, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदी, महान्याधिवक्ता रमेश बडाल पनि उपस्थित थिए ।

बिहीबारसम्म अहिलेसम्म गरेका र सम्बन्धित निकायसँग भएका छलफलको समीक्षा गर्ने र प्रतिवेदन तयार पार्ने भन्दै उनले सबैले सत्ता पक्ष र प्रतिपक्षको नभइकन सिंगो देश र शान्तिको प्रक्रियालाई निस्कर्षमा पुर्‍याउने विषयसँग जोडेर जिम्मेवारीबोधका साथ विषय टुंगोमा पुर्‍याउनुपर्ने बताए । अब लामो समयसम्म पीडितलाई थप पीडामा जोडिरहने अवस्थाको अन्त्य हुने बर्तौलाले बताए ।

कानूनलाई अब चाँडोभन्दा चाँडो टुंग्याइ यही ऐनअनुसार आयोग बनाएर पीडितलाई न्याय दिने र पीडकलाई सजायको दायरामा ल्याउने गरी अघि बढेको उनले जानकारी दिए । उनले भने, ‘अब हामी टीआरसी विधेयक करिब करिब टुंग्याउने चरणमा हामी पुग्यौँ । अब दुई दिन अहिलेसम्मको सबै छलफलहरुलाई नियालेर प्रतिवेदन ल्याउँछौं । बिहीबार ८ बजे बैठक बसेर त्यो फाइनल डकुमेण्ट हेरेपछि त्यसको आधारमा फिनिसिङ गर्छौं । यो कानूनलाई अब चाँडो भन्दा चाँडो टुंग्याएर, यही ऐनहअनुसार आयोग बनाएर पीडितलाई न्याय दिने र पीडकलाई सजायको दायरामा ल्याउने गरी अघि बढेका छौँ । यो महत्वपूर्ण छ ।’

कार्यदलको बैठक बिहीबार बिहान ८ बजे पुनः बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *