प्रधानमन्त्री समक्ष सबै मन्त्रालयद्वारा बिफ्रिङ, मंगलवार निर्देशन दिने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रालयको काम कारबाहीबारे बिफ्रिङ लिएका छन् ।
आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा उपप्रधानमन्त्री, मन्त्रीसहितको उपस्थितिमा सबै मन्त्रालयका सचिवबाट मन्त्रालयको कामबारे जानकारी लिएका हुन् । जनतामा छाएको निराशा चिर्ने उद्देश्यका साथ काम गर्न प्रधानमन्त्रीले सबै मन्त्रालयको कामको जानकारी लिने काम गरेको खानेपानी मन्त्री प्रदीप यादवले जानकारी दिए ।
मन्त्रालयले आ–आफ्नो समस्यासहितको भावी रणनीति सहितको प्रस्तुति गर्ने काम सकिएको र साउन १५ गते मंगलवार ९पर्सी० प्रधानमन्त्रीले मन्त्रालयहरूलाई आवश्यक निर्देशन दिने मन्त्री यादवको भनाई थियो । बैठकमा विकासे मन्त्रालयका सचिवहरूले ठेकदारहरूको भुक्तानीको समस्यालाई जोड दिएर उठान गरेका थिएभने केहीले संविधानसँग बाझिएका कानुनहरू तत्काल संशोधन परिमार्जन गर्नुपर्ने धारणा राखेका थिए ।
मन्त्री यादवले भने ‘आगामी रणनीति के हो त मन्त्रालयहरूको ? त्यसैकारण सबै मन्त्रीज्यू र सबै सचिवजीहरूलाई बोलाउनु भयो । अहिलेको मन्त्रालयको वर्तमान अवस्था के छ, अवस्था कस्तो छ ? र आगामी रणनीति के हो त ? मन्त्रालयको । त्यो बुझ्नका निमित्त सम्माननीय प्रधानमन्त्रीज्यूले आज सबै मन्त्रीजी र सबै सचिवजीलाई बोलाउनु भएको थियो । र आज छलफल भयो । र सबै मन्त्रालयको ब्रिफिङ उहाँले सुन्नुभयो । र त्यसको निर्देशन उहाँले मंगलवार दिनुहुन्छ । मन्त्रालयहरूले आफ्ना समस्या, आफ्ना भावी रणनीतिको बारेमा मन्त्रालयले कुरा राख्यो । धेरै विकासे मन्त्रालयहरूको धेरै पैसा अहिले ठेकदारहरूको दिन बाँकी छ । त्यो विषयमा पनि राख्यो । र ऐनहरूको बारेमा पनि कुरा राखियो । बाझिएका ऐनहरू संशोधन गर्नुपर्ने र आगामी रणनीति के गर्ने त ? नयाँ सरकार गठन भएको छ । भोलीको दिन जुन नागरिकमा आज निराशा छ । त्यो निराशा कसरी हट्ने ? त्यो विषयमा आज सबै मन्त्रालयले आ–आफ्नो बिफ्रिङ गरेको छ । र त्यो बिफ्रिङको आधारमा सम्माननीय प्रधानमन्त्रीज्युले सबैकुरा सुन्नुभएको छ । उहाँको सचिवालयले टिपेको पनि छ । रेकर्ड पनि राखेको छ । र, त्यही आधारमा सम्माननीय प्रधानमन्त्रीजीले मंगलवार निर्देशन गर्नुहुन्छ ।’
मन्त्री यादवले सचिवहरूले दिएको बिफ्रिङलाई अध्ययन गरेर प्रधानमन्त्रीले मंगलवार निर्देशन दिने र सोही अनुसार चालु आर्थिक वर्षको काम अघि बढाउने सरकारको योजना रहेको बताए ।
भने ‘त्यसै आधारमा मन्त्रालयहरूले आफ्नो काम अगाडि बढाउँछ । अब जुन समस्या थियो मन्त्रालयको, त्यो आ–आफनो मन्त्रालयको समस्या उहाँहरुले राख्नुभयो । अब सम्माननीय प्रधानमन्त्रीजीले त्यो चीज दुई दिन अध्ययन गर्नुहुन्छ । र निश्चित रुपमा नयाँ रणनीतिका साथ कसरी अगाडि बढ्ने त । त्यसैका लागि उहाँले दुई दिनको समय लिनुभएको हो । मंगलवार यसको निर्देशन दिनुहुन्छ । यो वर्षको मन्त्रालयहरूको विकासे जस्तो ।’
प्रधानमन्त्री ओलीले बोलाएको सो बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारीहरू, सबै सुरक्षा अंगका प्रमुखहरूको पनि उपस्थिति रहेको थियो ।








