प्रधानमन्त्री ओलीको कमजोरी भेटिए सहन्नौं, खरो ढंगले अभिव्यक्ति दिइन्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको कमजोरी भेटिए खरो टिप्पणी गर्ने बताएका छन् ।

आईतवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले राम्रो काममा सरकारलाई निरन्तर साथ दिने र कम भएर प्रधानमन्त्री, मन्त्रीहरुबारे पनि संसद र बाहिर पनि खरो अभिव्यक्ति दिने बताएका हुन् ।

महामन्त्री शर्माले कुरा कम र काम बढी गर्न पनि सरकारलाई सुझाव दिए । एक्काईसौ शताब्दीको कामको प्रचार स्वयं काम आफैँले गर्ने भएकाले सरकारले त्यसैमा केन्द्रित भएर अघि बढ्नुपर्ने उनको भनाई थियो ।

‘सरकारमा गएर कुरा बढी भयो वा काम बढी भयो ? एक्काईसौँ शताब्दीको कामको प्रचार स्वयं काम आफैँले गर्छ । म सम्माननीय प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा बनेको यो सरकारलाई सफलताको शुभकामना दिन चाहन्छु,’उनले भने,‘दुईटा दलले मिलेर बडा जिम्मेवार भएर आपसका विमतिहरुलाई आफ्नै ढंगको छलफल र विमर्शबाट स्वीकारेर, यसलाई सुरक्षित गरेर हामीले अगाडि जाँदैगर्दा हामीले सम्बोधन गर्न सक्नुछ–आम नेपाली नागरिकमा जे जति प्रश्न उब्जिएका छन् । ती प्रश्नहरुलाई हल गर्ने सामथ्र्य राख्नुछ ।’

महामन्त्री शर्माले लामो संघर्षबाट आएका काँग्रेस–एमालेले नेतृत्वको सरकारले देशमा नयाँ आशा, नयाँ विश्वासलाई भर्नेगरी काम गर्ने विश्वास पनि व्यक्त गरे ।

वर्तमान सरकारले आफूलाई गतिशील ढंगले, जिम्मेवार ढंगले, एकतावद्ध ढंगले, पारदर्शी ढंगले, दृढ ढंगले शहीदको शपथ खाएर कार्य गर्न सक्नुपर्ने उल्लेख गर्दै महामन्त्री शर्माले त्यसमा आफूहरुले बलियो साथ दिने बताए ।

‘लामो संघर्षबाट आएका दलहरुले त्यो सामथ्र्यलाई पूरा गरेर देशमा नयाँ आशा, नयाँ विश्वासलाई भर्न सक्नेछन् । नेपालमा रहेका सबै नेपालीसहित संसारमा पल्लो कुरामा रहेका प्रत्येक नेपालीलाई पनि नेपाल निर्माणको एउटा नविन सम्भावनातर्फ अघि बढदैछ भन्ने नविन आशा भर्न सक्नेछन्,’उनले भने,‘त्यो दिशामा काम गर्नका लागि वर्तमान सरकारले आफूलाई गतिशील ढंगले, जिम्मेवार ढंगले, एकतावद्ध ढंगले, पारदर्शी ढंगले, दृढ ढंगले शहीदको शपथ खाएर कार्य गर्न सक्नेछ भनेर म कामना गर्न चाहन्छु । त्यही शुभकामना सरकारलाई राख्दै राम्रो काममा सरकारलाई निरन्तर साथ रहने, कमजोरी हुँदैगर्दा प्रधानमन्त्रीजीको बारेमा पनि, मन्त्रीहरुको बारेमा पनि सार्वजनिक रुपमा पनि, संसदमा पनि खरो ढंगले उभिने अभिव्यक्ति राख्न चाहन्छु ।’

महामन्त्री शर्माले सुशासनको पक्षमा सरकारले आफँै भित्र कमी भएपनि खोजी गर्नसक्ने सामथ्र्य राख्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *