उपभोक्ता अधिकारकर्मीहरूको माग- ठगी भइरहेको छ, बजार अनुगमन प्रभावकारी बनाउनू

काठमाडौँ । उपभोक्ता अधिकारकर्मीहरूले दैनिक उपभोग्य वस्तुको बिक्री वितरणमा उपभोक्ताहरूमाथि ठगी भइरहेको भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उपभोक्ता अधिकारकर्मीहरूले दैनिक उपभोग्य वस्तुको बिक्री वितरणमा उपभोक्ताहरू चरम ठगीमा पर्दै आएका बताएका हुन् । उनीहरुले बजार अनुगमन प्रभावकारी रुपमा गर्न नसक्दा अखाद्य वस्तुहरू उपभोक्ताको चुल्होसम्म पुग्ने अवस्था रहेको भन्दै बजार अनुगमनलाई प्रभावकारी बनाउन माग गरेका छन् ।
बैठकमा बोल्दै उपभोक्ता जागरण अभियान नेपालका अध्यक्ष कृष्णप्रसाद भण्डारीले नेपालको बजारको अवस्था डरलाग्दो भएको बताए । उनले बजारमा म्याद गुज्रिएका अखाद्य वस्तुहरूको बिक्री वितरण भइरहेको बताए । अखाद्य वस्तुका कारण उपभोक्ताको स्वास्थ्यमा समेत असर परिरहेको उनको भनाई छ ।
उनले सामग्रीहरू चर्को मूल्यमा बिक्री वितरण भइरहेको र मिसावट पनि व्यापक रुपमा हुने गरेको बताए । त्यस्तै बिजुली, पानी र टेलिफोन लगायतका सेवाहरू नियमित नहुँदा नहुँदै पनि चर्को महसुल असुल गरिरहेको भन्दै यसतर्फ पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
बैठकमा बोल्दै सुशासन महासंघ नेपालका अध्यक्ष ओम लामिछानेले स्थानीय निकायहरूले अनुगमन गर्नुपर्ने बताए । उनले बजार अनुगमन गर्ने कर्मचारी बढाउनुपर्ने बताए । उनले उपभोक्ता अदालत गठन तुरुन्तै गर्नुपर्ने बताए । उनले साना–ठूला सबै पसलहरूलाई प्यानमा लानुपर्ने बताए । उनले दाल, चामल लगायतका खाद्य सामग्रीहरू बाहिर निर्यात नगरी देशमै भण्डारण गर्नुपर्ने बताए ।
बैठकमा बोल्दै विश्व उपभोक्ता महासंघ नेपालका अध्यक्ष तारा कार्कीले शक्तिको पहुँचका कारण बजार स्वच्छ हुन नसकेको बताए । उनले वाणिज्य विभागले बजार अनुगमन गरेर दोषीलाई कारबाही गर्न खोजेपनि राज्यको माथिल्लो निकायबाट संरक्षण हुने गरेको बताए । उनले सिमेन्ट, काँटाकिला लगायतका निर्माणका सामग्रीमा सबैभन्दा बढी भ्रष्टाचार हुने गरेको बताए ।
उनले स्वास्थ्य, शिक्षाको क्षेत्रमा पनि भ्रष्टाचार हुने गरेका कारण उपभोक्ता मारमा परेका बताए । उनले बजार असहज भएको र खाद्यमा गुणस्तर नभएको बताए ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भारतको भन्सार बिन्दुबाट नआउने खाद्य सामग्रीहरू गैरकानूनी बाटोबाट आउने गरेको बताए । उनले गैरभन्सारबाट आउने सामग्रीहरूको मूल्यमा एकरूपता नहुने र मिसावट हुने हुँदा उपभोक्ताहरू ठगिएका बताए । उनले आपूर्ति व्यवस्थालाई सुदृढ पार्नुपर्नेमा जोड दिए ।
उपभोक्ता हित संरक्षण मञ्च नेपालकी सचिव कुमारी खरेलले राज्यको संयन्त्रहरू सही रुपमा नचलेका कारणले बजार व्यवस्थित हुन नसकेको धारणा राखे । उनले राज्यका निकायहरूका बीचमा समन्वय हुन नसक्दा पनि उपभोक्ता मारमा परेका बताए । उनले शिक्षा, स्वास्थ्य सेवा धेरै महँगो भएको भन्दै नागरिकले सहज रुपमा उपभोग गर्न नसक्ने अवस्था रहेको बताए ।
सचिव खरेलले सरकारले बजार अनुगमनमा ध्यान पुर्याउनुपर्नेमा जोड दिए ।








