सरकारले विद्यालयका प्रधानाध्यापक शिक्षा सेवा आयोगबाट ल्याउनुपर्छ : कांग्रेस सांसद भण्डारी
काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका सांसद डा.चन्द्रकान्त भण्डारीले विद्यालयका प्रधानाध्यापक शिक्षा सेवा आयोगबाट ल्याउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
विद्यालय शिक्षा विधेयक संसदमा पेस भएको उल्लेख गर्दै उनले त्यहाँ सो कुरालाई समावेश गर्न सरकारसँग माग गरेका हुन् । मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद भण्डारीले विद्यालय तहको नेतृत्व प्रधानाध्यापकले गर्ने भएकाले उसले दृढ भएर काम गर्न पनि सो आयोगले चयन गर्नुपर्ने बताए ।
सांसद भण्डारीले अन्तर्राष्ट्रिय क्षेत्रमा अनुसन्धान गरिरहेकाहरूलाई विश्वविद्यालयको नेतृत्वमा पुर्याउन पनि सरकारलाई सचेत गराए ।
उनले भने ‘अहिले शिक्षा विधेयक आएको छ । त्यो शिक्षा विधेयकलाई हामीले कुनैपनि नेतृत्व इच्छाशक्तिको भएन भने, कुनै नेतृत्व दृढ भएन भने, कुनै नेतृत्वले आफनो संस्थालाई परिवार सम्झेन भने कुनैपनि ठाउँ, कुनै पनि देश अगाडि बढ्न सक्दैन । त्यसकारण विद्यालयका हेडमास्टरहरूलाई शिक्षा सेवा आयोगबाट ल्याउने व्यवस्था गर्यो भने त्यो हेडमास्टरबाट, त्यो नेताबाट शिक्षा क्षेत्र अगाडि बढ्न सक्छ भन्ने मलाई लाग्छ । आज विश्वविद्यालय नेताविहीन जस्तो छ । त्यहाँको प्रोफेसर, जसले अनुसन्धानको क्षेत्रमा अन्तर्राष्ट्रिय रुपमा काम गर्नसक्छ, उसलाई नेतृत्व दिएमात्रै विश्वविद्यालय चलाउन सक्छ ।’
सांसद भण्डारीले विश्वविद्यालय अहिले नेतृत्व विहीनजस्तो अवस्थामा रहेको भन्दै चिन्ता पनि व्यक्त गरे ।