विपद्मा पीडितहरूका लागि सबै जिल्लामा आवश्यक राहतको प्रबन्ध गरिएको छ : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मनसुनलगायतका विपद् पीडितहरूलाई सबै जिल्लामा आवश्यक राहतको व्यवस्था मिलाइएको बताएका छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकमा सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिने क्रममा उनले सो दाबी गरेका हुन् । गृहमन्त्री लेखकले मृतकका परिवार र बेपत्ता भएकाका परिवारलाई राहत दिने कामलाई निरन्तर रुपमा अघि बढाइएको बताए । विपद्पछिको खोज, उद्धारका लागि नेपाल प्रहरीबाट ७ हजार १६९ जना र सशस्त्र प्रहरी बल, नेपालबाट ३ हजार ९५६ जना खटिई ९८९ जनालाई सकुशल उद्धार गरिएको पनि गृहमन्त्री लेखकले बताए ।

उनले भने ‘यस वर्षको मनसुन सुरु भएको दिन अर्थात् २०८१ जेठ २८ गतेदेखि हालसम्म देशभर विभिन्न प्राकृतिक प्रकोपका १ हजार ५९२ घटनाहरू भएका छन् । जसमध्ये हालसम्म १३० जनाको मृत्यु भएको छ भने १४४ जना घाइते भएका छन । र, ४८ जना बेपत्ता भएका छन् । त्यसैगरी ५९४ पशु चौपायाको नोक्सानी भएको छ । २३१ घर र ८४ गोठमा क्षति पुगेको छ । हालसम्म ४३ वटा सानाठूला पुलहरु बगेका छन, भत्केका छन । र २ वटा सरकारी भवनहरु भत्किएका छन् । यसै क्रममा ४ हजार ४ परिवारहरू विस्थापित हुने अवस्था सृजना भयो । जसमध्ये १ हजार ५९ परिवारलाई सुरक्षित आश्रय स्थलमा सारिएको छ भने बाँकी आफ्नै घरमा फर्किएका छन । मनसुनजन्य विपद्का कारणले देशका सबै ७७ वटै जिल्ला प्रभावित भएका छन । विपद्पछिको खोज, उद्धारका लागि नेपाल प्रहरीबाट ७ हजार १६९ जना र सशस्त्र प्रहरी बल, नेपालबाट ३ हजार ९५६ जना खटिई ९८९ जनालाई सकुशल उद्धार गर्न सकिएको छ ।’

उनले विपद्मा परी १३० जनाको मृत्यु भएको र घाइते भएका १४४ जना मध्ये ५ जना बाहेक सबै उपचार गरी घर फर्किएको पनि जानकारी दिए ।

उनले भने ‘अधिकांश विपद्का घटनामा नेपाली सेना समेत खोज र उद्धारमा खटिएको छ । विपद्पछिको राहतका लागि सबै जिल्लामा आवश्यक राहत सामग्रीको प्रबन्ध गरिएको छ । मृत्यु भएका १३० जना मध्ये ४७ जनाका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ । र बाँकी परिवार राहत रकम पाउने प्रक्रियामा रहेका छन् । त्यसैगरी ४८ जना बेपत्ता भएको स्थिति छ । र नेपाल सरकारले पछिल्लो समयमा बेपत्ता भएका मानिसलाई पनि पत्ता लागेन, खोजी भएन भने त्यस्ता बेपत्ताका परिवारजनलाई मृतक सरह नै राहत उपलब्ध गराउने निर्णय गरेको छ । सो निर्णय अनुसार बेपत्ता भएका परिवारहरू पनि राहत रकम पाउने प्रक्रियामा रहेका छन् । घाइते १४४ जनामध्ये ५ जना उपचाररत छन् । बाँकी सबै उपचारपछि अस्पतालबाट डिस्चार्ज भएर घर गइसकेका छन् । ५ जनाको उपचार भइराखेको छ ।’

गृहमन्त्री लेखकले चितवनको सिमलतालमा बस दुर्घटनामा परी बेपत्ता भएकाहरूको खोजी कार्यका लागि भारतीय सुरक्षाकर्मी पनि परिचालन गरिएको पनि संसदलाई जानकारी गराए ।

भने ‘यसैबीचमा पछिल्लो समयमा सरकारले मित्र राष्ट्र भारतलाई पनि खोजी कार्यमा मद्दत गर्नका लागि हामीले आग्रह गरेका थियौँ । त्यस अनुसार भारतीय राष्ट्रिय विपद् मोचन बलका मानिसहरु आवश्यक सामग्रीसहित आएका छन् । र हाम्रो र भारतबाट आएको एमडीआएफको टोलीले संयुक्त रुपमा खोजी कार्य गरिराखेको छ । आज बिहान साँढे ८ बजेबाट सिमलतालदेखि घुमाउने केराबारीसम्म खोज तथा उद्धारको कार्य पुनः सुरु गरिएको छ । उक्त खोजी कार्यका लागि दैनिक ३६८ सुरक्षाकर्मी अहोरात्र खटिएको अवस्था छ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *