कैलालीमा अस्पताल बनाउने भनेर चर्च बनाइयो : ज्ञानबहादुर शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही कैलालीमा अस्पताल बनाउने भन्दै चर्च बनाइएको विषयमा आपत्ति जनाएका छन् ।
मंगलवारको प्रतिनिधि सभा बैठकमा सांसद शाहीले झुटो विवरण पेस गरेर भवन र गाडी खरिद समेत गरिए पनि पछि त्यहाँ चर्च बनाइएको र स्थानीयहरू विरोधमा उत्रिएको बताएका हुन् ।
‘कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ को मनेरामा अस्पताल बनाउन स्थानीय तहबाट अनुमति लिइयो,’उनले भने,‘भवन पनि बनाइयो र गाडी पनि खरिद गरियो । पछि वैदिक सनातन मान्ने मान्छेहरूलाई सैतान भन्दै चर्च बनाइयो ।’
उनले वैदिक सनातन मान्ने मान्छेहरूलाई सैतान भन्दै चर्च बनाएको बताए ।
उनले स्थानीय तहमा गएर झुटो विवरण पेश गरी धार्मिक मन्दिर,चर्च र गुम्बाहरु बनाउन नपाइने बताए ।
‘अहिले त्यहाँ स्थानीयबासीहरू विरोधमा उत्रेका छन । धर्म मान्न पाइन्छ सबैको अधिकार हो तर अर्काको धर्मलाई गाली गर्न पाइँदैन,’उनले भने,‘झुटो विवरण पेस गरेर धर्म, मन्दिर र चर्च बनाउन र विदेशीले धर्म प्रचार गराउन पाइँदैन ।’
उनले धर्म प्रचार गर्ने दुई जना कोरियन नागरिक रहेको भन्दै उनीहरूलाई पक्राउ गरी कारबाही गर्न माग गए ।








