सांसदले घुस दिएको विषयलाई संसदले नजरअन्दाज गर्न मिल्दैन : कांग्रेस (भिडिओ)

काठमाडौं । नेपाली काँग्रेसका सांसद राजन केसीले पूर्वमन्त्री तथा जनता समाजवादी पार्टीका सांसद डा.वीरेन्द्र महतोले पाँच हजार घुस आफूले दिएको भन्ने विषयमा संसद मौन बस्न नहुने बताएका छन् ।
मंगलवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद केसीले तीन दिनभित्र सदनलाई जानकारी दिन सरकारसँग माग गरे । उनले संसदको रोस्ट्रमबाट पूर्वमन्त्री तथा सांसदले पाँच हजार घुस दिएँ भन्दै उठाएको विषयमा सभामुखबाट किन रूलिङ नभएको ? भन्दै प्रश्न गरे ।
उनले पाँच हजार घुस दिएको विषय संसदले नजरअन्दाज गर्न नमिल्ने बताए । उनले उक्त विषयमा सभामुखबाट रूलिङ हुन्छ भन्ने आश भएपनि नभएको गुनासो गरे ।
उनले पूर्वमन्त्री तथा सांसदले पनि घुस दिनुपर्ने अवस्था भए आमनागरिकको अवस्था के होला ? भन्दै प्रश्न गरे ।
‘संसदमा पूर्वमन्त्री तथा सांसदले अध्ययनको प्रमाणपत्र प्रमाणित गर्न ५ हजार घुस दिनुदिएको विषयलाई संसदले नजरअन्दाज गर्न मिल्दैन,’उनले भने,‘सभामुखले रुलिङ गर्न आवश्यक थियो । तर भएन । घुस खाएको विषय संसदमा बोल्दा समेत संसद मौन बस्नु हुँदैन । अहिले पनि घुस लिनेहरु खुला रुपमा खाईरहेका छन् ।’
उनले मुलुकमा भ्रष्टाचार बढेको कारणले राजश्व संकलनमा समेत गिरावट भएको बताए । उनले सरकारको आम्दानी भन्दा खर्च धेरै भएकाले आर्थिक रुपमा शिथिल बन्न पुगेको बताए ।
उनले अब सरकारले मुलुकमा भएका युवाहरुलाई उत्पादन र रोजगारीसँग जोड्न आवश्यक भएको बताए ।








