‘दुई ठूला राजनीतिक दलहरू मिलेर सरकार बनाएकाले शेयर बजारमा उत्साह देखियो’

काठमाडौँ । पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले एमाले–काँग्रेस दुई ठूला राजनीतिक दलहरू मिलेर सरकार बनाएकाले शेयर बजारमा उत्साह देखिएको बताएका छन् ।
सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वअर्थमन्त्री महतले यस्तो बताएका हुन् । उनले मुख्य दुई राजनीतिक दल मिलेर सरकार बनाएकाले जनताको अपेक्षा ठूलो रहेको बताए । उनले अब शेयर बजार मात्रै होइन समग्र अर्थतन्त्रमा उत्साह देखिनुपर्ने बताए ।
उनले माग भन्दा सप्लाई बढी भएकाले पनि समस्या देखिएकाले समस्या समाधान गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन आवश्यक रहेको बताए । उनले मौद्रिक नीतिले अर्थतन्त्रमा सहजता सिर्जना गर्ने गरी ल्याउनुपर्ने बताए । उनले मौद्रिक नीतिमा रिफर्म गर्नसक्ने ठाउँहरूमा रिर्फम गरेर ल्याउनुपर्नेमा जोड दिए ।
पूर्वअर्थमन्त्री महतले शेयर बजार, जग्गा कारोबार लगायत क्षेत्रमा कर्जा प्रवाहको लागि सीमाहरू कायम राखेर गरेको माइक्रोम्यानेजमेण्टलाई विचार गर्नु आवश्यक रहेको बताए । उनले बैंकको ब्याजदरमा सहजता आएको बताउँदै शेयर बजार र घरजग्गा कारोबारमा रहेका सीमाहरूलाई खुकुलो गर्नुपर्ने बताए । उनले कर्जामा अनुत्पादन क्षेत्र भनेर लगाएको सीमामा पनि पुनः विचार गर्न आवश्यक रहेको बताए ।








