त्रिशूली दुर्घटनामा सम्भावित क्षेत्रलाई मुख्य केन्द्रबिन्दु बनाई खोजी कार्य भइरहेको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशूली यात्रु बस दुर्घटनामा हराएकाहरूको खोजी गर्न १९७ जना सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिएका छन् ।
सोमवार प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तरमा प्रधानमन्त्री ओलीले असार २८ गते त्रिशूलीमा भएको यात्रु बस दुर्घटनामा परेर हराएकाहरूको खोजी कार्य जारी रहेको बताएका हुन् । उनले खोजी कार्यमा नेपाली सेनाका १४ जना, नेपाल प्रहरीका ५६ जना र सशस्त्र प्रहरी बल नेपालका १२६ जनागरी १९७ जना सुरक्षाकर्मीले खोजी कार्य गरिरहेका जानकारी दिए ।
त्यस्तै ५ जना भारतीय गोताखोर पनि परिचालन गरिएको उनले बताए । हराएका ६२ जनामध्ये हालसम्म २५ जनाको शव फेला परेको उनको भनाई छ । जसमध्ये १८ जनाको सनाखत भएको र ७ जनाको सनाखत हुन बाँकी रहेको उनले जानकारी दिए । उनले नदीले बगाएका शवहरू भेटिन सक्ने सम्भावित स्थलहरू चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम र भारतको पूर्वी चम्पारणसम्म खोजी कार्य भइरहेको बताए ।
उनले भने ‘बस दुर्घटना भएको स्थल र सो को आसपासको क्षेत्रलाई मुख्य केन्द्रबिन्दु बनाई खोजी कार्य गरिएको छ । नदिले बगाएका शवहरू भेटिन सक्ने सम्भावित स्थलहरू चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम र भारतको पूर्वी चम्पारण सम्म खोजी कार्य भइरहेको छ । धमिलो पानी, नदिको उच्च बहाव गति र ३०/४० मिटर गहिरो नदीको कारण खोजी कार्यमा अपेक्षित सफलता मिल्न सकेको छैन । तथापि उपलब्ध प्राविधिक उपकरण, जनशक्तिको सम्पूर्ण सामर्थ्य प्रयोग गरी सुरक्षा निकाय परिचालन र स्थानीय प्रशासनले स्थानीय नागरिकहरू समेतको सहयोगमा खोजी कार्यमा निरन्तरता दिएको छ ।’
उनले खोजी कार्यमा स्थानीय नागरिकहरू समेत संलग्न भएका बताए ।








