‘एमसीसी परियोजना अन्तर्गतका कामहरु तोकिएकै समयमा सम्पन्न हुनेगरी अगाडी बढेको छ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी परियोजना अन्तर्गतका कामहरु तोकिएको समयमै सम्पन्न हुनेगरी काम अगाडी बढेको बताएका छन् ।
सोमवार प्रतिनिधि सभा बैठकमा सांसदहरूसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री ओलीले एमसीसी परियोजना अन्तर्गतका कामहरु तोकिएको समय पाँच वर्ष भित्रै सम्पन्न हुनेगरी काम अगाडी बढेको बताएका हुन् । उनले सम्झौता अनुरूप ट्रान्समिसन लाइन, सबस्टेशन तथा सडक स्तरोन्नतिका आयोजना तोकिएको समयमै सम्पन्न हुनेगरी काम अगाडी बढेको जानकारी दिए ।
उनले एमसीसीबाट प्राप्त हुने अमेरिकी डलर पाँच सय मिलियन बराबरको रकम सम्झौता अवधिभित्र पूरै उपयोग गर्नेगरी वित्तीय योजना ढाँचा कार्यान्वयन हुने पनि जानकारी दिए ।
उनले भने – ‘एमसीसी सम्झौता अनुरूप ट्रान्समिसन लाइन, सबस्टेशन तथा सडक स्तरोन्नतिका आयोजना तोकिएको समय पाँच वर्षभित्रै सम्पन्न गर्नेगरी कार्ययोजना स्वीकृत भई सोही अनुसार कार्य अगाडी बढेको छ । आयोजनाको सबस्टेशन निर्माणको लागि ठेक्का सम्झौता समेत भइसकेको छ । ट्रान्समिसन लाइनको सम्बन्धमा एउटा खण्डको सम्झौता हुने चरणमा पुगेको छ । बाँकी काम तीव्र रुपमा अगाडी बढेको छ । एमसीसीबाट प्राप्त हुने अमेरिकी डलर पाँच सय मिलियन बराबरको रकम सम्झौता अवधिभित्र पूरै उपयोग गर्नेगरी वित्तीय योजना ढाँचा कार्यान्वयन हुनेछ । प्रस्तुत आयोजना सम्पन्न भएपश्चात् नेपालको ऊर्जा क्षेत्रको विकासमा विशेष योगदान पुग्नेछ भने सडक स्तरोन्नतिमा नयाँ प्रविधि हस्तान्तरण हुने समेत जानकारी गराउन चाहन्छु ।’
उनले एमसीसी परियोजनामार्फत नेपालको ऊर्जा क्षेत्रको विकासमा विशेष योगदान पुग्ने तथा सडक स्तरोन्नतिमा नयाँ प्रविधि हस्तान्तरण हुने बताए ।








