अभिलेख संरक्षणलाई अझ व्यवस्थित बनाउन विधेयक ल्याएका हौँ : बद्रीप्रसाद पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ महत्वपूर्ण र बहुमूल्य अभिलेखहरूको संकलन र संरक्षण गर्न विधेयकले सहज हुने बताएका छन् ।
सोमवारको राष्ट्रिय सभा बैठकमा प्रतिनिधि सभाबाट संशोधनसहित फिर्ता भएको अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुतपछि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
उनले विधेयकबाट लाभ लिने लाभग्राहीहरूलाई सहज ढंगले त्यसको प्राप्ति र उपयोग गर्नेकुरा राज्यको सम्बन्धित निकायले गर्ने बताए । उनले अझ सुदृढ र बलियो बनाउन विधेयकमा आवश्यक संशोधन गरिएको बताए ।
उनले भने ‘अभिलेखको जुन यो विधेयक छ, यसमा दुई तीन वटा कुरामा हामीले प्रारम्भदेखि नै ध्यान दिएका हौँ । महत्वपूर्ण र बहुमूल्य अभिलेखहरूको संकलन गर्नेकुरा, संरक्षण गर्नेकुरा र त्यसबाट लाभ लिने लाभग्राहीहरूलाई सहज ढंगले त्यसको प्राप्ति र उपयोग गर्नेकुरा राज्यको एउटा डेडिकेटेड निकायले गर्नुपर्छ । त्यो कुरालाई अझ सुदृढ बनाउन, बलियो बनाउन यो विधेयकमा हामीले आवश्यक संशोधन गरेका छौँ । विशेष गरी समसामयिक परिवर्तन, संशोधन, कम्प्युटर, क्यासेट लगायत डिजिटल वा विद्युतीय रेकर्ड संरक्षण लगायतका कामहरु यो विधेयकका माध्यमबाट उक्त निकायले गर्नेछ । हामी संघीय शासन प्रणालीमा गएका छौँ, संघीय शासन प्रणालीका तीन तह, संघ, प्रदेश र स्थानीय तहको रेकर्ड व्यवस्थापनलाई एकरूपता दिने, प्रभावकारी र व्यवस्थित बनाउने विषयमा यो विधेयक पारित भएपछि लागू भएपछि सहजता प्राप्त हुनेछ ।’
बैठकमा प्रतिनिधि सभाबाट संशोधनसहित फिर्ता आएको अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सर्वसम्मत सहमति गरिएको छ ।








