रतनपुरमा पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या
काठमाडौं । सर्लाहीमा पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । उनको आइतबार राति चन्द्रनगर गाउँपालिका १ रतनपुरस्थित साविक गाउँको घरमै धारिलो हतियार प्रयोग गरी हत्या भएको हो ।
रगतले लतपतिएको अवस्थामा रायको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनी बेलाबेला सो घरमा बस्न आउने गरेको देखिएको मधेस प्रदेश प्रहरी कार्यालयका एसपी सुवास चन्द्र बोहराले जानकारी दिए । उनकाअनुसार हत्या घटनाको को अनुसन्धान सुरु भएको छ ।
उनको काठमाडौं, मंगलवासहित तीन ठाउँमा घर रहेको खुलेको छ । सर्लाही उनको गाउँको घर हो । ८० वर्षीय राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री भएका थिए । घटनामा आफन्त वा चिनजानकै व्यक्तिको संलग्नताको आशंका गरिएको छ ।
घटनाको जानकारी पाएलगत्तै जिल्ला तथा प्रदेश प्रहरी कार्यालयबाट प्रहरी अनुसन्धानमा जुटेको छ । ‘यहाँ सम्पत्ती हुनेहरु नै हुन्छन् । यस्तोमा सम्पत्तीकै लागि पनि अपराध भएको हुनसक्ने देखिन्छ,’ एक सुरक्षा अधिकारीले भने, ‘८० वर्षीय वृद्धलाई अन्य कुनै सुरक्षा थ्रेट त देखिदैन ।’