प्रधानमन्त्री ओलीलाई माधवको जवाफ– सत्ता प्राप्तिका लागि खेलो फड्को गर्नु उचित होइन

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ काँग्रेस–एमाले गठबन्धनको औचित्य पुष्टि हुने कुनै आधार नभएको बताएका छन् ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा राखेको विश्वासको मत सम्बन्धी प्रस्ताव माथिको छलफलमा भाग लिँदै उनले मध्य रातमा दुई दलले अपारदर्शी ढंगबाट बनाएको नयाँ गठबन्धनको संकेत राम्रो नभएको बताए ।

उनले प्रधानमन्त्री ओलीप्रति संकेत गर्दै सत्ता प्राप्तिका लागि अनेकौँ खेलोफड्को गर्ने काम स्वीकार्य नहुने बताए ।

अध्यक्ष नेपालले संसदीय व्यवस्थामा दुई ठूला दल मध्ये एउटा दलले सरकारको नेतृत्व गर्ने र अर्को दलले प्रतिपक्षको भुमिका निर्वाह गर्नुपर्नेमा दुवै दल मिलेर सरकार बनाउने कुरा उचित नभएको बताए ।

उनले भने ‘सत्ता प्राप्तिका लागि अनेकौँ खेलोफड्को गर्ने अनि राजनीतिक अस्थिरताको दोष व्यवस्थालाई दिनेकुरा किमार्थ उचित होइन । फ्रान्सको एक मिडियाले नेपाललाई राजनीतिक अस्थिरताको विश्व च्याम्पियन भनेर समाचार छापेको छ । हो सो मिडियाले भनेजस्तै हामी पछिल्लो १४ वर्षमा १५ औं प्रधानमन्त्रीले राख्नु भएको विश्वासको मत सम्बन्धी प्रस्तावमा छलफल गर्दैछौं । तर मनसुन, बाढी, पहिरो र डुबानले हार गुहार गरिरहेका जनताप्रति बेखवर जस्तै छौं । पीडितको उद्धार, राहतमा अहोरात्र खटिनुपर्नेमा आज हामी के गरिरहेका छौं ? ठिक यस्तो बेला सरकारको परिवर्तन गर्नु आवश्यक थियो कि थिएन ? जनताले प्रश्न गरेका छन– संसदीय लोकतन्त्रमा प्रतिनिधि सभाको पहिलो र दोस्रो दलको सरकार विरलै देख्न पाइन्छ । एउटाले सरकारमा रहँदा अर्कोले प्रमुख प्रतिपक्षको रुपमा सरकारको खबरदारी गर्नुपर्ने हुन्छ । मध्यरातको अपारदर्शी सम्झौताबाट बनेको यो अप्राकृतिक गठबन्धनको उद्देश्य र औचित्यलाई कसरी पुष्टि गर्न सकिन्छ ? पक्कै पनि यो कुनै राम्रो संकेत देखिँदैन ।’

अध्यक्ष नेपालले जनता विपद्मा हारगुहार गरिरहेका बेला नयाँ सरकार बनाउनुपर्ने आवश्यकता किन पर्यो भनी प्रधानमन्त्री ओलीलाई प्रश्न पनि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =