गरिवी हटाउने गरी आवश्यक कार्यक्रम तत्काल ल्याउँछौं : ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा विद्यमान गरिवी हटाउनका लागि सरकारले आवश्यक कार्यक्रम ल्याउने बताएका छन् ।
आईतवार प्रतिनिधि सभा बैठकमा आफूमाथिको विश्वासको मतको प्रश्ताव प्रश्तुत गर्दै उनले यस्तो बताएका हुन् ।
राष्ट्रिय योजना आयोगको नेतृत्वमा एउटा संयन्त्र बनाई सरकारले गरिवी हटाउनका लागि आवश्यक कार्यक्रम तर्जुमा गर्ने प्रधानमन्त्री ओलीको भनाई थियो ।
उनले सबै पालिकामा खाद्य भण्डारणको स्थापना गर्न स्थानीय तहसँग सरकारले तत्काल समन्वय र सहकार्यको कामलाई अघि बढाउने बताए ।
उनले भने– ‘सबै पालिकामा खाद्य भण्डारणको स्थापना गर्न स्थानीय तहसँग समन्वय र सहकार्य गर्नेछौं । यस बाहेक निरपेक्ष गरिवी चाँडोभन्दा चाँडो कसरी हटाउने भन्ने सम्बन्धमा योजना आयोगको नेतृत्वमा सम्बन्धित मन्त्रालयको एक संयन्त्र तयार पार्नेछौं । र, त्यसको सुझावको आधारमा कार्यक्रम तर्जुमा गर्नेछौं । सडकमा बालबालिकाको बेहाल हुन नदिन हामीले मन्त्रीपरिषदबाट हामीले निर्णय गरिसकेका छौ । जुनसुकै भुगोलमा जन्मिएको भएपनि बालबालिकालाई भोकै मर्न दिइन्न ।’
प्रधानमन्त्री ओलीले सडकमा बालबालिकाहरुलाई बेहाल हुन नदिनका लागि आफूले मन्त्रीपरिषद्को पहिलो बैठकबाट नै आवश्यक निर्णय गराएको स्मरण गराए ।