इन्दिराको पत्रमा रास्वपाले भन्यो- उहाँको उज्यालो छवि छ (विज्ञप्ति)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई लेखेको पत्र प्रकरणमा आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको छ । विज्ञप्तिमार्फत धारणा सार्वजनिक गर्दै रास्वपाले भिसाका लागि आर्थिक लेनदेन नभएको दाबी गरेको हो ।

यो विषयमा पार्टीले यसअघि नै सोधखोज गरिसकेको पनि रास्वपाले जानकारी दिएको छ ।  ‘प्रतिनिधि सभाका उपसभामुख माननीय इन्दिरा राना मगरको नाम उल्लेख गरी विभिन्न सञ्चारमाध्यमहरूमा आएका समाचारप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ध्यानाकर्षण भएको छ। केही समयअघि उक्त विषयबारे पार्टीमा सूचना आएपछि पार्टीबाट तुरुन्तै सोधखोज गरिएको थियो । सो क्रममा भिसाको लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्तिहरू नेपाल अध्यागमन विभागको रेकर्डमा देश बाहिर गएको नदेखिन्‌का साथै कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन सकेन,’ विज्ञप्तिमा भनिएको छ ।

विभिन्न कूटनीतिक निकाय एवं जानकारहरूसँग बुझ्दा धेरै राजनीतिक दलका नेताहरूले अन्तर्वार्ता मिति मात्र होइन भिसाकै लागि लिखित वा मौखिक सिफारिस गर्ने गरेको अभ्यास पाइएको पार्टीको दाबी छ । ‘विभिन्न कुटनीतिक निकाय एवं जानकारहरूसँग बुझ्दा धेरै राजनीतिक दलका नेताहरूले अन्तर्वार्ता मिति मात्र होइन भिसाकै लागि लिखित वा मौखिक सिफारिस गर्ने गरेको अभ्यास पाइएको छ,’ रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘उज्यालो छविकै कारण रास्वपाले उहाँलाई उपसभामुखको उम्मेदवारका रूपमा प्रस्तुत गरेको हो । यद्यपि पदमा निर्वाचित भइसकेपछि इन्दिरा राना मगर पार्टीको सदस्य नरहनुभएको सर्वविदितै छ।’

रास्वपाले सञ्चार माध्यमले अतिरञ्जित रूपमा सामग्री प्रस्तुत गरेकोसमेत आरोप लगाएको छ । विज्ञप्तिमा लेखिएको छ, ‘पार्टीले गरेको अनुसन्धानका क्रममा उपलब्ध तथ्य र प्रमाणले सञ्चार माध्यमहरूमा अतिरञ्जित रूपमा प्रस्तुत गरिएका सूचना सामग्रीहरू जस्तो कतै पनि भिसाको माग गरिएको वा आर्थिक लेनदेन भएको कुनै तथ्यगत आधार देखिँदैन ।’

प्रतिक्रिया

One thought on “इन्दिराको पत्रमा रास्वपाले भन्यो- उहाँको उज्यालो छवि छ (विज्ञप्ति)

  1. ए रबि ए रास्वपा ‘यसअघिकै अभ्यास हो’ भने पुराना र तिमीहरुमा के फरक हो?
    गल्ति त भएकै हो नि? गल्ति भयो सुधार गरेर अगाडी बढ्छौ भन्ने महसुस सहित बोल्न सकिन्न?

    हावाका पनि पराकस्ट रहेछौ?

    हैन गल्तिको महसुस कैले पनि नगर्ने हो?

    राजनीतिमा परिपक्क मान्छे चाहिन्छ, तिमीहरु आलाकचाले भएको सस्कार पनि ध्वोस्ता पार्ने भयौ!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 6 =