राजतन्त्र नै मुलुकको विकासको मुख्य बाधक हो : डा. बाबुराम भट्टराई

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजतन्त्र नै मुलुकको विकासको बाधक भएको टिप्पणी गरेका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष भट्टराईले जटिल भौगोलिक अवस्था र उत्पादनको साधनको कमीको कारणले पनि नेपाल विकासमा अझै पछि परेको जिकिर गरे । उनले भारतसँग खुला सीमानाका कारण पनि नेपालको विकासमा अल्झन आउने गरेको बताए । सुगौली सन्धि लगायतका भारतसँगको असमान सम्बन्धहरूलाई नसच्याएसम्म नेपालको विकास नहुने अध्यक्ष भट्टराईको निष्कर्ष थियो ।

उनले भने ‘नेपाल हिमाल, पहाड, तराई मधेसमा बाँधिएको भूगोल र आर्थिक, सामाजिक रुपमा पनि असाध्यै सानो परिमाणको उत्पादनका साधन आदिले गर्दा पछाडि परेको हो । र राजतन्त्रको नेतृत्वमा जुन पुरानो सत्ता रह्यो, त्यसले गर्दा विकासको बाधक बन्यो भन्ने आन्तरिक कुरा । र बाह्य रुपमा सुगौली सन्धिदेखि यता भारतको जुन सेपमा हामी पर्यौं । म अन्धराष्ट्रवादी ढंगले कसैलाई गाली गर्ने पक्षमा छैन । तर के हो भने भारतको अर्थतन्त्र ठूलो छ । हाम्रो अर्थतन्त्र सानो छ । खुला सीमानाका कारण हामीले प्रतिस्पर्धा गर्न सक्दैनौँ । त्यसले गर्दा भारतसँगको जुन हाम्रा असमान सम्बन्ध बन्यो । त्यसले गर्दा यसलाई नसच्याएसम्म नेपालको विकास हुँदैन भन्ने मेरो दुई वटा निष्कर्ष छन् ।’

अध्यक्ष भट्टराईले पुराना राजनीतिक नेतृत्वलाई सम्मान गर्दै मुलुकलाई नयाँ ढंगले अघि बढाउनुपर्ने आवश्यकता पनि औँल्याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *