अर्थमन्त्रीको प्रतिबद्धता- सरकारले निजी क्षेत्रलाई दुःख दिँदैन, अभिभावकको भुमिका निर्वाह गर्छ

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारले निजी क्षेत्रलाई कुनैपनि दुःख नदिने प्रतिबद्धता जनाउका छन् ।
शुक्रवार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँगको भेटमा उपप्रधान तथा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले अर्थतन्त्रमा देखिएका समस्यालाई प्राथमिकतामा राखेर समाधान गर्ने बताए ।
अर्थमन्त्री पौडेलले राजनीतिक अस्थिरताको कारण मुलुक र निजी क्षेत्रले समस्या भोग्दै आएको भन्दै स्थायित्व र स्थिर सरकारको सन्देश दिने गरी सरकार बनेकाले सबै समस्याको समाधान पनि यही सरकारले दिने उल्लेख गरे । उनले राजनीतिक स्थायित्व सुनिश्चित गर्ने र अर्थतन्त्रका समस्यालाई समाधान गर्ने प्रयासका साथ सरकार अगाडि बढेको बताए ।
उनले भने ‘तपाईँहरूले सरकार प्रति आशा,भरोसा र विश्वास गर्नुस् । निजी क्षेत्रका समस्या समाधान गर्नको निम्ति प्रभावकारी पहल कदमी लिन्छ । निजी क्षेत्रले शिथिल र संकुचनमा रहेको अर्थतन्त्रलाई लयमा फर्कन सक्छ भन्ने विश्वास लिनुस् । सरकार सबैको अभिभावक हो । अभिभावकको भुमिका सरकारले निर्वाह गर्छ । सरकारले निजी क्षेत्रलाई दुःख दिँदैन ।’
अर्थमन्त्री पौडेलले बजारमा माग, उत्पादन, पुँजीगत खर्च र राजश्व लगायतका सूचकहरू घटेको अवस्था रहेको बताए । उनले अर्थतन्त्रका सूचकहरू मात्रै नभएर मानिसहरूको मन टुटेको भन्दै आत्मविश्वास बढाउने गरी काम गर्ने बताए । उनले बैंकमा तरलता हुँदा र ब्याजदर घट्दै जाँदा समेत कर्जा प्रवाह नभएको भन्दै निजी क्षेत्रको आत्मविश्वास जगाउनु सरकारको पहिलो चुनौती रहेको बताए ।

उनले भने ‘बैंकमा तरलता छ ब्याजदर घट्दै गएको छ तर ऋण लिन जाने मानिसहरु छैनन् । उद्योगीहरू नयाँ क्षेत्रमा लगानी गर्ने भन्दा पनि कसरी व्यवसाय बचाउने भन्ने चिन्तामा हुनुहुन्छ । निजी क्षेत्रका यी सबै समस्यालाई समाधान गर्न सकिन्छ भन्ने आत्मविश्वास नजगाई नहुने अवस्थामा आइपुगेका छौं । निजी क्षेत्र मुलुकको अर्थतन्त्रको बलियो आधार हो । निजी क्षेत्रको आत्मविश्वास कसरी बढाउने भन्नेमा सरकारको ध्यान केन्द्रित छ । ‘
उनले उद्योगीहरू नयाँ क्षेत्रमा लगानी गर्ने भन्दा पनि कसरी व्यवसाय बचाउने भन्ने चिन्तामा रहेकाले कर्जा प्रवाह हुन नसकेको बताए । उनले निजी क्षेत्र मुलुकको अर्थतन्त्रको बलियो आधार भएकाले निजी क्षेत्रको आत्मविश्वास बढाउन सरकारको ध्यान केन्द्रित रहेको बताए । उनले निजी क्षेत्रले सरकारप्रति आशा, भरोसा र विश्वास गरे त्यहाँका समस्या समाधान गर्नको निम्ति प्रभावकारी पहलकदमी लिने बताए ।
उनले निजी क्षेत्रले शिथिल र संकुचनमा रहेको अर्थतन्त्रलाई लयमा फर्कनसक्ने विश्वास दिन आग्रह गरे । उनले सरकार सबैको अभिभावक भएकोले अभिभावकको भुमिका निर्वाह गर्ने बताए ।
उनले भने ‘अहिलेको सरकार समस्याको आगो ताप्नका निम्ति बनेको सरकार होइन । यो सरकार समस्याको आगो निभाउने र समस्या समाधान गर्नको निम्ति बनेको सरकार हो । राजनीतिक अस्थिरताको कारण मुलुक र निजी क्षेत्रले समस्या भोग्दै आएको छ । अब यो संसदमा स्थायित्व र स्थिर सरकारको सन्देश दिन सक्ने सरकार यही हो । यो भन्दा अर्को सरकार हुन सक्दैन । राजनीतिक स्थायित्व सुनिश्चित गर्ने र अर्थतन्त्रका समस्याहरू छन् । ती समस्याहरूलाई समाधान गर्ने प्रयासका साथ सरकार अगाडि बढेको छ । बजारमा माग र उत्पादन, पुँजीगत खर्च घटेको र राजश्व घटेको अवस्था छ । त्यो भन्दा पनि मानिसहरूको मन टुटेको अवस्था छ । ‘
अर्थमन्त्रीसँगको भेटमा नेपाल चेम्बर अफ कमर्सले कर्जाको पुनर्तालिकीकरण भए धराशायी उद्योग बचाउन माग गरेको छ । चेम्बरका अध्यक्ष आर्थिक गतिविधिमा आएको संकुचनले माग र आपूर्तिबीच असन्तुलन, निजी क्षेत्रको सम्पत्तिमा संकुचन एवं बैंक तथा वित्तीय संस्थामा तरलता भएपनि निजी क्षेत्रमा लगानीप्रति आकर्षण नभएकोप्रति ध्यानाकर्षण गराए ।
उनले आर्थिक र वित्तीय क्षेत्रको निकासका लागि नीतिगत स्थायित्व र सरकारी संरक्षणको आवश्यकता रहेको बताए । उनले कालोसूचीमा पर्न लागेका उद्यमी व्यवसायीहरूलाई उद्योग व्यवसायको प्रकृति हेरेर केही समयका लागि कर्जाको पुनःतालिकीकरण गर्नुपर्ने माग राखे । पुनःतालिकीकरण गर्न सकिए उद्यमी व्यवसायीहरूमा ठूलो आत्मविश्वास सिर्जना गर्न सकिने र धेरै उद्यमी व्यवसायीलाई धरासायीहुनबाट जोगाउनुपर्ने चेम्बरको माग छ ।








