सिंहदरबारमा तीन दलको बैठक, प्रधानमन्त्रीको विश्वासको मतबारे रविले राखे फरक मत

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) सहित तीन प्रतिपक्ष दलबीच सिंहदरबारमा छलफल भएको छ ।

शुक्रवार नेकपा (माओवादी केन्द्र) सहित राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) ले छलफल गरेका हुन् । आईतवार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने र सो बारेमा धारणा बनाउन प्रतिपक्ष दलको बैठक बसेको हो ।

प्रतिपक्षको भुमिका निर्वाह कसरी गर्ने र जनताका आवाज कसरी संसदमा बलियो रुपमा उठाउने भन्नेबारेमा साझा धारणा बनाउन बैठक बसेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताए ।

‘हामी प्रतिपक्ष संख्यामा कम छौँ । त्यसकारणले कसरी बलियो प्रतिपक्ष भएर बस्ने, प्रतपिक्षलाई अलि बढी चुनौति छ नि त्यसकारणले प्रतिपक्ष दलहरुले छलफल गर्नुपर्छ होला,’उनले भने,‘एजेण्डाहरु, जनजीविकाका सवालमा साझा एजेण्डा के कस्ता हुन्छन् भन्ने सामान्य छलफल हो ।’

उनले बैठकमा प्रतिपक्षको संख्या कमजोर भएकाले साझा एजेण्डा बनाएर जनजीविकाका सवालमा आवाज उठाउनेबारे छलफल भएको बताए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (मोओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले बैठकमा आईतवार संसदमा प्रधानमन्त्रीबाट विश्वासको मत लिने कार्यतालिका रहेको र सो विषयमा धारणा बनाउन बैठक बसेको बताए ।

उनले प्रमुख प्रतिपक्ष दलसहितका प्रतिपक्ष दलहरु संसदमा कसरी प्रश्तुत हुने भन्नेबारेमा धारणा बनाएको पनि बताए । उनले दुई ठूला दल मिलेको सन्दर्भमा आम जनतामा लोकतन्त्र कमजोर हुने र निरंकुशतातिर जाने एवं प्रतिपक्ष कमजोर हुने आशंका व्यक्त भइरहेको बताए ।

उनले एजेण्डा र स्प्रिड र एकताको हिसावले जनताको भावनालाई प्रतिनिधित्व गर्ने समझदारी प्रतिपक्ष दलहरुमा भएको बताए ।

उनले वर्तमान सरकार संविधानको कमजोर जगमा टेकेर बनेको जिकिर गरे । उनले सत्तापक्ष निरंकुश बन्ने खतरा रहेको भन्दै प्रतिपक्षले त्यो हुन नदिने बताए ।

उनले भने– ‘आईतवार प्रधानमन्त्रीबाट विश्वासको मत लिने कार्यतालिका रहेको छ । त्यस विषयमा प्रमुख प्रतिपक्ष दल लगायत सम्पूर्ण प्रतिपक्ष दलहरु कसरी प्रश्तुत हुने भन्ने विषयमा छलफल भयो । अहिले दुई ठूला दल मिलेको सन्दर्भमा आम जनतामा लोकतन्त्र कमजोर हुन्छ र निरंकुशतातिर जाने र प्रतिपक्ष कमजोर हुने आशंका व्यक्त भइरहेको सन्दर्भमा हामी एजेण्डा र स्प्रिड र एकताको हिसावले जनताको भावनालाई प्रतिनिधित्व गर्ने समझदारी भएको छ । वर्तमान सरकार संविधानको कमजोर जगमा टेकेर बनेको छ । संविधानको धारा ७६ को उपधारा ३ अनुसार बन्नुपर्ने सरकार हुनुपर्नेमा संविधान मिचिएको छ । त्यो कुरा संसदमा पनि र सरोकारवालासँग पनि लैजाने कुरा भएको छ । अरुसँग पनि आईतवार संसदअघि छलफल गर्छौं । सत्तापक्ष निरंकुश बन्ने खतरा छ । हामी जनताको कुरा कमजोर हुन दिँदैनाँै ।’

सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले प्रधानमन्त्रीले विश्वासको मत लिनेकुरामा प्रतिपक्षको धारणा बनाउन बैठक बसेको बताए ।

उनले प्रधानमन्त्रीले अहिलेसम्म दुई दल मिलेर सरकार बनाइसकेपनि दुई दलको साझा कार्यक्रम नआएको बताए ।

उनले भने– ‘पर्सि वर्तमान प्रधानमन्त्रीले विश्वासको मत लिने भन्ने कुरा आयो । प्रतिपक्ष दलको तर्फबाट प्रतिपक्षमा रहेका तीन वटा दलहरु बसेर अब यो विश्वासको मत लिने सवालमा कसरी जान्छौँ भनेर साझा धारणा बनाउन बसेका हौँ । प्रतिपक्षको हैसियतले प्रधानमन्त्रीले अहिलेसम्म दुई दल मिलेर सरकार बनाइसक्नुभएको छ । साझा कार्यक्रम आइसकेको छैन, केके शर्तका आधारमा दुई दल मिलेको हो भन्नेकुरा आएको छैन । पर्सि मलाई के बापत विश्वासको मत दिने भनेर माग्नुहोला । विश्वासको मत माग्ने कुनै इस्यु होला । भइरहेको सरकार ढालेर विश्वासको मत मागेपछि उहाँलाई दिन सकिने वा नसकिने त्यही बारेमा सरसल्लाह हो ।’

सांसद पाण्डेले भइरहेको सरकार ढालेर विश्वासको मत मागेपछि दिने वा नदिने भन्नेबारेमा सल्लाह गरिएको बताए ।

बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल,उपाध्यक्ष नारायाण्काजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, रास्वपा सभापति लामिछाने, उपसभाति डोलप्रसाद अर्याल लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =