खेलाडीले विश्वमाझ नेपालको नाम राख्ने अवसरको रूपमा प्रतिस्पर्धा गर्नेछन् : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउन उपयुक्त माध्यम रहेको बताएका छन् ।
फ्रान्सको पेरिस सहरमा हुने ३३ औं ग्रीष्मकालीन ओलम्पिकमा सहभागी हुने नेपाली टोलीको बिदाइ कार्यक्रममा राष्ट्रपति पौडेलले उक्त धारणा राखेका हुन् ।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रवार आयोजित कार्यक्रममा उनले उँचो मनोबल लिएर ओलम्पिकमा जान आग्रह गर्दै विश्वमाझ नेपालको नाम राख्ने अवसरको रूपमा खेलाडीले प्रतिस्पर्धा गर्ने विश्वास व्यक्त गरे । राष्ट्रपति पौडलले दृढ संकल्प र अठोटका नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेमा आफू आशावादी रहेको बताए ।
सो अवसरमा राष्ट्रपति पौडेलले पेरिस ओलम्पिकका लागि नेपाली टोलीका सेभ दी मिसन समेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङलाई झण्डा हस्तान्तरण गर्दै बिदाइ गरे ।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल र नेपालीको शिर उँचो राख्ने उद्देश्यसहित नेपाली टोलीको भावनाअनुरूप खेल्न शुभकामना दिए । देशमा राखेको रेकर्डसमेत ध्यानमा राखेर खेल्ने विश्वास व्यक्त गरे ।
आगामी जुलाई २२ देखि अगस्ट ११ सम्म पेरिस सहरमा ओलम्पिक हुँदैछ । सोही ओलम्पिकमा नेपालको तर्पबाट ६ खेलका सात खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।








