पर्यटन व्यवसायी श्रेष्ठको निधनमा देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ पर्यटन व्यवसायी तथा द्वारका होटल एवं रिसोर्टका सञ्चालक अम्बिका श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
उनको ९२ वर्षको उमेरमा उपचारका क्रममा यही साउन ३ गते निधन भएको हो ।
सभापति देउवाले शोक विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
सभापति देउवाले स्व श्रेष्ठले नेपालको पर्यटन तथा होटल व्यवसायको क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दै उनको निधनबाट सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।
स्व श्रेष्ठ हिमाल मिडिया प्रालिको संस्थापक अध्यक्ष तथा स्पेनका लागि पूर्वअवैतनिक महावाणिज्यदूतसमेत थिइन् ।
साढे छ दशकदेखि नेपालको पर्यटन तथा होटल व्यवसायका क्षेत्रमा अनवरत रूपमा संलग्न रहेर यस क्षेत्रको श्रीवृद्धिमा उनले उल्लेखनीय योगदान पुर्याएकी थिइन् ।
सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय उनले पर्यटन क्षेत्रका साथै महिला उद्यमशीलता प्रवर्द्धन र महिला सशक्तीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।








