४ महिना सरकारमा बस्दा देश कसले चलाएको रहेछ भन्ने कुरा राम्रोसँग थाहा पायौँ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश कसले चलाउँछ भन्नेकुरा राम्रोसँग जानकारी मिलेको बताएका छन् ।
बिहीवार पार्टीको नीति मन्थनबारे सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारमा ४ महिनाको अवधिमा बस्दा कुन शक्तिबाट देश चल्छ भन्नेकुरा राम्रोसँग बुझ्न पाएको भन्नेकुरा थाहा पाएको बताए ।
‘हामी त केही सिक्नु थियो । हामीले त केही गर्नु थियो । हामी त हेर्नु थियो । सिंहदरबार कसरी चलाउने भन्नेकुरा जान्नका लागि सिंहदरबार कसरी चल्दैछ भन्नेकुरा हेर्नैपर्छ । जति गाली खाएर भएपनि केही समय सरकारमा जानु नै थियो,’उनले भने,‘अहिले जुन चार महिनाको अवधि हामीले सरकारमा बस्यौँ, यो अवधिले अब चाहीँ हामीलाई धेरै कुरा बुझ्न सहयोग मिलेको छ । अब पद र गोपनियताको शपथ खाएका छौँ, सबैकुरा सार्वजनिक गर्न त मिल्दैन । तर देश कसले चलाएको रहेछ भन्नेकुरा राम्रो सँग थाहा पायौँ । यो ठूलो पाठ सिकेका छौँ । यसबाट राज्यलाई घाटा लगाएका छैनौँ ।’
उनले गोपनियताको शपथ ग्रहण गरेकाले सबैकुरा भन्न नमिल्ने भन्दै सरकारमा बस्दा कुन शक्ति हाबी हुन्छ र कुन शक्तिबाट सरकार चलेको छ भन्नेकुराको जानकारी पाएको बताए ।
उनले नयाँ राजनीतिक दल भएर किन सरकारमा गएको भन्ने प्रश्नहरु आएको भन्दै सरकारमा गएर नै सरकार भित्रका गल्तीहरु बुझ्ने बताए ।
उनले पुराना राजनीतिक दलहरुसँग सँगै उभिँदा गल्ती केही नगरे पनि गाली मात्रै खाएको बताए ।
२१ जना भ्रष्टहरुलाई संसदमा जान रोकेर आफूहरुले राम्रा मान्छे ल्याएको दाबी गरे ।
‘नयाँ राजनीतिक दल भएर सरकारमा किन गएको ? भन्छन् । सरकारमा किन गएको भनेको भन्यै छन्,’उनले भने,‘पुराना राजनीतिक दलहरुसँग सँगै उभिँदाखेरी गल्ती केही नगर्दा पनि गाली खाने बाहेक केही काम भएन ।’
सभापति लामिछानेले शिक्षा क्षेत्रलाई राजनीतिबाट अन्त्य गर्न जरुरी रहेको बताए ।








