आइतबार सदनमा विश्वासको मत

कति जुट्ला प्रधानमन्त्री ओलीको पक्षमा मत ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते आइतबार सदनबाट विश्वासको मत लिने लिने भएका छन् । सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाका अनुसार आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् ।

नेकपा एमाले अध्यक्ष ओली संविधानको धारा ७६ (२)अनुसार ३० असारमा प्रधानमन्त्री नियुक्त भएका थिए । धारा ७६ (४) अनुसार नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । तर, प्रधानमन्त्री ओलीले शपथ लिएकै दिन ६ गते विश्वासको मत लिन चाहेको मौखिक जानकारी संसद् सचिवालयलाई गराएका थिए । संसद् सचिवालयमा विश्वासको मत लिनेसम्बन्धी औपचारिक पत्र भने बुधबार मात्र पुगेको छ ।

पत्र पठाउनुअघि प्रधानमन्त्री ओलीले आगामी आइतबार विश्वासको मत लिनेबारे सभामुख देवराज घिमिरेसँग मौखिक जानकारी गराएका थिए । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ । प्रधानमन्त्री ओलीसँग प्रतिनिधि सभामा दुईतिहाइ बहुमत देखिएको छ ।

ओली नेतृत्वको सरकारमा कांग्रेसको ८८, एमालेको ७८, जसपाको ७ र लोसपाको ४ सहित १७७ सांसद सरकारमै छन् । त्यसबाहेक जनमतको ६, जसपा नेपालको ५ र नागरिक उन्मुक्तिको ४ सहित प्रधानमन्त्री ओलीले दुई तिहाइ बढी अर्थात् १९२ सांसदको समर्थन पाउने देखिएको छ । यसमा स्वतन्त्र सांसदद्वय अमरेशकुमार सिंह र योगेन्द्र मण्डलले पनि सरकारलाई साथ दिने बचन दिँदै आएका छन् ।

०७४ को निर्वाचनपछि बनेको सरकारमा पनि ओली दुई तिहाइ समर्थनमा प्रधानमन्त्री भएका थिए । तत्कालीन नेकपाभित्रको आन्तरिक द्वन्द्वले प्रधानमन्त्री गुमाउन पुगेका ओलीले तीन वर्षपछि फेरि त्यही हैसियतको प्रधानमन्त्री हुने मौका पाएका छन् ।

कांग्रेस र एमालेले असार १७ गते सहमति गर्दै मुलुकलाई स्थायित्व दिने भन्दै गठबन्धन गरेर नयाँ सरकार बनाउने सहमति गरेका थिए । प्रधानमन्त्रीले ६ गते संसद्बाट देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम पनि छ । सोही दिन प्रधानमन्त्रीको नियुक्ति प्रक्रिया नमिलेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिटमाथि सुनवाइ पनि हुँदै छ ।

असार २८ गते प्रधानमन्त्री प्रचण्डले संसद्मा पेस गरेको विश्वासको मतको प्रस्ताव फेल भएको थियो । प्रचण्डले ६३ मत मात्रै पाए । उनको विपक्षमा भने १९४ मत परेको थियो । कांग्रेसका ८८, एमालेका ७८, राप्रपाका १४, जसपाको सात, जनमतको ६, जसपा नेपालको पाँच, लोसपा र नागरिक उन्मुक्तिको चार/चार, दुई स्वतन्त्र मत पनि विपक्षमा परेको थियो । जुन दुईतिहाइ बढी मत हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − one =