अधिवक्ता नानी थापाविरुद्ध अख्तियारमा उजुरी

काठमाडौँ । अधिवक्ता लक्ष्मी थापाले दोहोरो सुविधा लिएको आरोपमा अख्तियारमा उजुरी परेको छ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-६ घर भएकी थापाले काठमाडौँ जिल्ला अदालत र सिन्धुपाल्चोक जिल्ला अदालतबाट दोहोरो सुविधा लिएको आरोप लागेको हो ।
प्रमाणपत्र नम्बर-१६८५१ थापा सिन्धुपाल्चोक जिल्ला अदालतको वैतनिक वकिल हुन् । रा.प तृतीय शाखा अधिकृत सरहको तलब सुविधा लिने गरी उनी त्यहाँ २०७९ चैत २५ मा नियुक्त भएकी थिइन् ।
काठमाडौँ जिल्ला अदालतमा २६ वटा मुद्दामा प्रतिवेदन दिएर उनले रकम लिएको जिकिर गर्दै उजुरकर्ताले दोहोरो सुविधा लिएको घटनामा छानबिन र अनुसन्धान गर्न माग गरेका छन् । काठमाडौँ जिल्ला अदालतमा पनि उनले बाल मनोविज्ञ नियुक्त भएर काम गरेको र तलब, भत्ता बुझेको भेटिएको छ ।
साउन १ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरकर्ताले उजुरी दर्ता गराएका हुन् । अख्तियारमा सि-०००१९४ नम्बरमा उजुरी दर्ता भएको हो ।
‘किर्ते कागज तयार गरेर सार्वजनिक सम्पत्तिको लाभ लिएको’ आरोप लगाउँदै उजुरकर्ताले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र बार काउन्सिललाई पनि बोधार्थ दिएका छन् ।








